लागुपदार्थ सेवन गरी सवारी चलाउने तीन जना चालक नागढुंगाबाट प्रहरीको नियन्त्रणमा
थानकोट ।
ट्राफिक प्रहरीले लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर २ नागढुङ्गा चेकपोष्ट अगाडी गरिएको चेकिङमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाएका तीन जना चालकलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुई जना ट्रक चालक र एक माईक्रोबस चालक रहेका छन्। नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीसहितको सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण व्युरो र ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलिले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ३ जना चालक भेटिएका थिए।
नियन्त्रणमा आएका उनीहरूलाई थप अनुसन्धानका तथा कारबाहीका लागि प्रहरी प्रभाग नागढुङ्गा पठाइएको छ।
यात्रु बोक्ने संवेदनशिल सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गर्नु आफैमा नियम विपरित तथा दण्डनीय कार्य भएकोले सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने ट्राफिक प्रहरीले जनाएको छ।
आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ।













