सुकुम्बासीलाई सरकारले कीर्तिपुरसहित यी पाँच स्थानमा राख्ने

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यकाका नदी किनारमा रहेका अव्यवस्थित सुकुम्बासी बस्ती हटाउने अभियान शनिबारदेखि सुरु भएको छ।

थापाथली, सिनामंगलको गैरीगाउँ र मनोहरा क्षेत्र खाली गराउन डोजर लिएर पुगेको सरकारी टोलीले विस्थापित हुनेहरूलाई उपत्यकाका ५ स्थानमा अस्थायी रूपमा स्थानान्तरण गर्ने भएको छ।

शनिबार बिहानै थापाथली बस्तीमा डोजर र बाक्लो सुरक्षाकर्मी पुगेपछि स्थानीय आफैँले आफ्ना टहरा भत्काउन थालेका छन्। विगतमा जस्तो झडपको अवस्था नरहेको यस अभियानमा नेपाल प्रहरीले सुकुम्बासीलाई उनीहरूका सरसामान सुरक्षित रूपमा सार्न सघाइरहेको छ।

डोजरले पेलेर नष्ट गर्नुभन्दा आफ्नै हातले भत्काउँदा सामान जोगिने भन्दै स्थानीयले जस्तापाता र काठपात चट्टा मिलाएर राखेका छन्। यद्यपि, बस्ती खाली गराउने क्रममा सुरक्षाकर्मीले मिडियालाई भने भित्र प्रवेश गर्न पूर्ण रूपमा निषेध गरेका छन्।

पाँच स्थानमा अस्थायी बसोबास र खानाको प्रबन्ध
आफ्नो बास उठे पछि कहाँ जाने भन्ने अन्योलमा रहेका सुकुम्बासीलाई सरकारले अस्थायी बसोबासको व्यवस्था मिलाएको छ।

शनिबार र आइतबार ती क्षेत्रबाट स्थानान्तरण गरिनेहरूलाई नागार्जुनको ४२ वटा आवास युनिट, कीर्तिपुरस्थित सत्सङ्गको ठूलो भवन, भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र, खरीपाटी र चाँदबागका सरकारी भवन तथा खाली जग्गामा राखिनेछ।

यी संरचनाहरू यसअघि नै निर्माण गरिएका हुन्, जसलाई अहिले सुकुम्बासी व्यवस्थापनका लागि पूर्ण प्रयोगमा ल्याउन लागिएको हो।

पुन:र्स्थापनाका लागि छानिएका यी स्थानहरूमा पानी, बिजुली र शौचालयको सुविधा सुनिश्चित गर्न सरसफाइ कार्य सम्पन्न गरिसकिएको सरकारले जनाएको छ। साथै, आज र भोलि दुई दिन सरकारले नै उनीहरूलाई प्याकेटमा खानाको प्रबन्ध समेत गर्नेछ।

सुकुम्बासीलाई अस्थायी स्थानमा राखेपछि भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले उनीहरूको अन्यत्र जग्गा भए/नभएको विस्तृत विवरण डिजिटल प्रणालीमा राखेर वास्तविक र अवास्तविक सुकुम्बासी छुट्याउनेछ।

सुकुम्बासीका नाममा जग्गा कब्जा गर्ने ‘नक्कली’ पात्रहरूलाई कुनै विकल्प नदिने र उनीहरूको विवरण सार्वजनिक गर्ने कडा तयारी सरकारले गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *