सुकुम्बासी बस्तीमा डोजरः चार परिवारलाई कीर्तिपुर पठाइयो

Thankot Times

थानकोट ।

काठमाडाैंको थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुम्वासी र भूमिहीनको ‘स्क्रिनिङ’ जारी छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले अहिले थापाथलीबाट ल्याइएका सुकुम्वासी परिवारको लगत संकलन गरिरहेका छन् ।

अपराह्न १:३० बजेसम्म २३ परिवारको लगत संकलन भएको प्राधिकरणका प्रशासन प्रमुख कविता केसी बोगटीले जानकारी दिइन् ।

सरकारको दर्ता प्रक्रियामा आएकामध्ये चार परिवारलाई तत्कालै कीर्तिपुरस्थित राधास्वामी सत्संग केन्द्रमा पठाइएको उनले बताइन्।

“वास्तविक सुकुम्वासीको परिवार सङ्ख्या, घरमुलीको नामलगायत विवरण संकलन गरिरहेका छौँ । त्यसपछि तत्कालका लागि तोकिएको ‘सेल्टर’मा पठाउँछौँ”, केसीले भनिन्, “सेल्टरमा उहाँहरूलाई खाने, बस्ने सम्पूर्ण व्यवस्था सरकारले गरेको छ ।” अस्थायी बसोबास स्थलमा उनीहरूको व्यवस्थापन भएपछि दोस्रो चरणमा राज्यले जमिन प्रदान गर्ने कार्य थालनी गरिने उनले जानकारी दिइन् ।

थापाथलीमा अवैध रूपमा निर्माण गरिएका संरचना भत्काइएपछि ती परिवारलाई सरसामानसहित रंगशाला ल्याइएको हो । अहिले पनि सुकुम्वासीहरू आफ्नो जाने थातथलो कहीँ नभएको भन्दै सरकारी सहयोगको खोजीमा रंगशाला आउने क्रम जारी छ ।

“वास्तविक सुकुम्वासीहरू यहाँ आउनुभएको छ, अन्य आफ्नो व्यवस्था गरी गइसक्नुभएको छ”, प्रमुख केसीले भनिन्, “केही परिवार यहाँ आएर पनि सरकारले तोकेको ठाउँमा नबस्ने भनी निस्कनुभएको छ ।” उनका अनुसार रङ्शालाभित्रै सुकुम्वासीलाई स्वास्थ्य सुविधा उपलब्ध गराउन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य महाशाखाको टोली खटिएको छ ।

सुकुम्वासी परिवारलाई सुरक्षित बसोबास स्थलसम्म लैजाने क्रममा आइपर्ने स्वास्थ्य जटिलता न्यूनीकरण गर्न चिकित्सक, नर्स र प्यारामेडिक्ससहितको टोली खटिएको कामपाको महामारी रोग रोकथाम तथा नियन्त्रण फोकल पर्सन ऋषि भुसालले जानकारी दिए ।

यसैबीच, थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउने काम सम्पन्न भएको छ ।

त्यहाँ अवैध रूपमा निर्माण गरिएको संरचना डोजर लगाएर हटाइएको छ ।

केही सुकुम्वासी परिवार आफ्नो सरसामानलाई सुरक्षित रूपमा अन्यत्र लैजान खटिइरहेका छन् ।

सुरक्षाकर्मीलगायतको टोलीले अहिले सिनामंगल–गैरी गाउँ क्षेत्रमा रहेका अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन थालेको छ ।

सो क्षेत्रमा रहेका सुकुम्वासी /भूमिहीन परिवारले पनि सरकारको निर्देशन पालना गर्दै आफ्ना घरटहरा भत्काएर सरसामान सुरक्षित स्थानमा लगिरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *