बागमती प्रदेशका सांसदलाई आयोजना प्रस्ताव बुझाउन वैशाख २१ सम्मको समय
थानकोट ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी प्रक्रिया अघि बढाउँदै प्रदेश सभा सदस्यहरूलाई विकास आयोजनाका प्रस्ताव समयमै पेस गर्न निर्देशन दिएको छ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले जारी गरेको निर्देशन अनुसार सांसद तथा सम्बन्धित कार्यान्वयन इकाईहरूले २१ वैशाख २०८३ भित्र आयोजना सम्बन्धी विवरण पेश गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।
मन्त्रालयले यसका लागि ‘वार्षिक आयोजना प्रस्ताव तथा छनोटसम्बन्धी निर्देशिका, २०८३’ लागू भइसकेको जानकारी दिँदै प्रस्ताव गरिने योजनाहरू स्पष्ट आधार, जनहित र परिणाममुखी हुनुपर्नेमा जोड दिएको छ।
प्रदेशमा सन्तुलित तथा समावेशी विकास सुनिश्चित गर्न प्रत्यक्ष रूपमा बढी नागरिक लाभ पुग्ने र प्रभावकारी प्रतिफल दिने आयोजनालाई प्राथमिकता दिनुपर्ने निर्देशनमा उल्लेख छ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङको सचिवालयले जारी गरेको पत्रमार्फत यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो।
निर्देशिकाअनुसार आयोजना विवरण प्रस्तुत गर्दा अनुसूची-३ मा उल्लेख गरिएको ढाँचा अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ। आयोजना पहिचानदेखि छनोटसम्मका सम्पूर्ण चरणलाई व्यवस्थित र मापदण्डअनुसार अघि बढाउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सीमित स्रोत-साधनलाई ध्यानमा राख्दै दीर्घकालीन प्रभाव दिने र उपयोगिता उच्च भएका योजनालाई छनोटमा प्राथमिकता दिइनेछ। प्रदेश सभा सदस्यहरूको सक्रिय सहभागिताले बजेट कार्यान्वयन प्रभावकारी हुने अपेक्षा गरिएको छ।










