नेपालमा हिजोभन्दा आज, आजभन्दा भोलि थप गर्मी बढ्ने
थानकोट ।
देशका केही स्थानमा आज उच्च गर्मी हुनेछ ।
अधिकतम तापक्रम बढ्ने पूर्वानुमान रहेको छ ।
पूर्व नेपालभन्दा मध्य तथा पश्चिम नेपालमा गर्मी धेरै हुनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ । बाँकी हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा मधेस प्रदेशलगायत कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भू-भागका एकदुई स्थानमा मध्यमसम्म वर्षा र हिमपात सम्भावना छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा तातो दिन हुने सम्भावना छ ।
विभागले राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्ने बताएको छ । मधेस प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी र गण्डकी प्रदेशका थोरै स्थानमा साथै मधेस, वाग्मती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।
जलवायुविज्ञ धर्मराज उप्रेती अबको तीन/चार दिन गर्मी बढ्दै जाने बताउँछन् । “आगामी तीन/चार दिन गर्मी बढ्दै जाने सम्भावना देखिन्छ । हिजोभन्दा आज र आजभन्दा भोलि थप गर्मी बढ्नेछ,” उप्रेती फेसबुकमा लेख्छन्, “सबै उमेर समूहलाई गर्मी बढेको महसुस हुनेछ ।”
नेपालका केही स्थानमा सोमबार अधिकतम तापक्रम ४० डिग्री नाघेको थियो ।
पूर्वी नेपालको तुलनामा पश्चिम नेपालमा बढी गर्मी हुने र त्यसमा पनि तराई भू-भागमा बढी तातो हुने उनले प्रस्ट पारेका छन् ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको विभागले बताएको छ ।










