साफ च्याम्पियनशिप खेल्न भारत जाने नेपाली महिला टोलीको बिदाइ

Thankot Times

थानकोट ।

साफ महिला च्याम्पियनशिप खेल्न भारत जाने नेपाली राष्ट्रिय टोलीको बिदाइ भएको छ ।

सिंहदरबारमा आज एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले टोलीलाई बिदाइ गरेका हुन् ।

बिदाइ कार्यक्रममा मन्त्री पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताए ।

उनले खेलाडीहरूको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको उल्लेख गरे ।

मन्त्री पोखरेलले नेपाली महिला फुटबल टोलीले पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा गरेको प्रदर्शनको प्रशंसा गरे ।

उपलब्ध सीमित स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै खेल क्षेत्रको विकास र खेलाडीको वृत्तिविकासमा सरकार सधैँ प्रयत्नशील रहने उनको भनाइ छ ।

आउँदो सोमवार जेठ ११ गतेदेखि भारतको गोवामा शुरू हुने साफ महिला च्याम्पियनशिपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै भूटान र श्रीलङ्का छन् । समूह ‘बी’ मा साविक विजेता बङ्गलादेश, भारत र माल्दिभ्स रहेका छन् ।

नेपालले समूह चरणको पहिलो खेलमा जेठ ११ गते भूटानसँग र दोस्रो अन्तिम खेलमा जेठ १७ गते श्रीलङ्कासँग खेल्नेछ ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल जेठ २३ गते हुनेछ ।

प्रतियोगिताका लागि गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा नेपाली टोली घोषणा भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *