एसियाली खेलकुद महिला क्रिकेट छनोटः नेपालले आज चीनको सामना गर्दै

Thankot Times

थानकोट ।

नेपाली महिला क्रिकेट टोली बुधबार एसियाली खेलकुदको महिला छनोट अन्तर्गत समूह चरणको खेलमा चीनसँग भिड्दै छ ।

नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् ।

नेपालले इन्डोनेसियासँग बिहीबार खेल्नेछ ।

नेपालले चीनविरुद्ध यसअघि खेलेका दुवै महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको छ ।

सन् २०१९ को फेब्रुअरीयता नेपाल र चीन पहिलो पटक खेल्न लागेका हुन् । यो खेल नेपाली समय अनुसार दिउँसो २ बजे सुरु हुनेछ ।

मलेसियामा मंगलबार सुरु भएको प्रतियोगिताको पहिलो दिन चीनले इन्डोनेसियालाई ७ विकेटले पराजित गरेको छ ।

इन्डोनेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको थियो । उक्त लक्ष्य चीनले १९.५ ओभरमा पूरा गरेको हो ।

पहिलो जित निकालेको चीन उच्च मनोबलका साथ मैदानमा हुनेछ ।

समूह ‘ए’ मा हङकङ, मलेसिया र थाइल्यान्ड छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

सेमिफाइनलका विजेता टोलीले फाइनल खेल्नेछन् भने पराजित हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका शीर्ष तीन टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनोट हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *