रविन्द्र ढाँट ‘रोड टु युएफसी’ सिजन ५ को सेमिफाइनलमा प्रवेश (भिडियो)

Thankot Times

थानकोट ।

नेपाली मिश्रित मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट युएफसी छनोट प्रतियोगिता ‘रोड टु युएफसी’ सिजन ५ को सेमिफाइनलमा पुगेका छन्।

बिहीबार मकाउस्थित ग्यालेक्सी एरेनामा सम्पन्न क्वाटरफाइनल भिडन्तमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै ढाँट अन्तिम चारमा प्रवेश गरेका हुन्।

प्रतिस्पर्धास्थलमा ठूलो संख्यामा नेपाली समर्थक उपस्थित रहेका थिए। ‘बझाङको बाघ’ उपनामले परिचित ढाँट यो प्रतियोगितामा जित निकाल्ने पहिलो नेपाली फाइटर समेत बनेका छन्।

अब सेमिफाइनलमा उनको भिडन्त जापानका योनुसुके मिनामी र न्युजिल्यान्डका कासिब मुर्डोकबीचको विजेतासँग हुने तय भएको छ।

यसअघि ढाँटले प्रारम्भिक चरणमा म्याट्टी इयानसँग खेल्ने तय भए पनि उनी घाइते भएपछि किम्बर्ट अलिन्टोजोन प्रतिस्थापन खेलाडीका रूपमा मैदानमा आएका थिए।

ब्यान्टमवेट समूहमा प्रतिस्पर्धा गरिरहेका ढाँटले प्रतियोगितामा सफलता हासिल गरे युएफसीको मुख्य चरणमा प्रवेश गर्ने अवसर पाउनेछन्।

पछिल्लो समय उनी नेपाली एमएमए क्षेत्रमा चर्चित खेलाडीका रूपमा परिचित छन्। गत वर्ष भारतको ग्रेटर नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट १७ मा भारतका चुङरेन कवरेनलाई नकआउट गर्दै उनले उपाधि जितेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *