आज शनिबार कतै यात्रा गर्ने तयारीमा हुनुहुन्छ ? साथमा छाता वा वर्षादी बोक्न नभुल्नुहोला
थानकोट ।
देशका केही भू-भागमा आज वर्षा हुनेछ । केही स्थानमा हावाहुरीको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
मधेस, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
देशका तराई र पहाडी भू-भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।
विभागले राति सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा कोसी, वाग्मती र लुम्बिनी प्रदेशका हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
मौसमविद् विनोद पोखरेल पश्चिमी वायुले लिएर आएको वर्षा आइतबारदेखि विस्तारै घट्दै जाने बताउँछन् । “अर्को हप्ता थोरै ठाउँमा मात्र वर्षा हुने देखिन्छ,” उनी फेसबुकमा लेख्छन्, “पश्चिमी वायुको असर भने अझै केही दिन रहने हुँदा गर्मी धेरै हुने छैन ।”
आज बिहान काठमाडौं लगायत मध्य नेपालमा वर्षा भइरहेको भन्दै उनी आज मधेसमा राम्रो वर्षा हुने सम्भावना रहेको बताउँछन् ।
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु र पश्चिमदेखि पूर्वसम्म नेपालनजिक रहेको न्यूनचापीय रेखाको प्रभाव रहेको विभागले बताएको छ ।












