साफ महिला च्याम्पियनसिप: सेमिफाइनल खेलमा नेपालले आज बङ्गलादेशको सामना गर्दै
थानकोट ।
दक्षिण एसियाली देशहरूको ठूलो प्रतियोगिता महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज बुधबार बङ्गलादेशसँग खेल्दैछ ।
खेल भारतको गोवामा रहेको पण्डित जवाहरलालनेहरु रङ्गशालामा दिउँसो सवा ४ बजे शुरु हुनेछ ।
विगत पाँच वर्षयता नेपाल बङ्गलादेशसँग पराजित हुँदै आएको छ ।
सन् २०२२ र २४ मा भएको साफ च्याम्पियनसिपको फाइनलमा बङ्गलादेशले नेपाललाई हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो ।
नेपाली महिला टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले बङ्गलादेशसँगको खेलमा आफ्नो टोली शारीरिक र मानसिक रूपमा बलियो रूपमा प्रस्तुत हुने बताउनुभयो ।
समूह चरणको खेलमा नेपालले भुटानलाई १–० र श्रीलङ्कालाई २–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
बङ्गलादेशले समूह चरणको खेलमा माल्दिभ्सलाई हराउँदा भारतसँग हार बेहोरेको थियो ।
आजै भारत र भुटानबीचको दोस्रो सेमिफाइनल खेल राति सवा ८ बजे हुनेछ ।












