नेपाली काँग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप

Thankot Times

थानकोट ।

नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थप गरेको छ । यसअघि समय थपेर बिहीबारसम्मका लागि समय दिइएको थियो ।

शनिबार ललितपुरको सानेपास्थित बी.पी. स्मृति भवनमा बसेको नेपाली काँग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

पार्टीका महामन्त्री एवं समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभर उत्साहजनक रूपमा भइरहेको सदस्यता अद्यावधिक गर्ने कार्यका लागि विभिन्न तहहरूबाट थप समय माग भई आएको भन्दै म्याद थप्ने निर्णय गरेको छ ।

अब क्रियाशील सदस्यता अद्यावधिक गर्ने अन्तिम समय सीमा २०८३ जेठ २८ गते राति १२:०० बजेसम्मका लागि कायम गरिएको छ । समितिले यो समय थप अन्तिम पटकका लागि गरिएको स्पष्ट पारेको छ ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न तहहरूबाट सदस्यता अद्यावधिकका लागि समय अपुग भएको जानकारी प्राप्त हुन आएकाले अन्तिम पटकका लागि जेठ २८ गतेसम्मको समय निर्धारण गरिएको छ । तोकिएको अवधिभित्रै आ(आफ्नो सदस्यता अद्यावधिक गर्ने कार्य अनिवार्य रूपमा सम्पन्न गर्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *