प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध चन्द्रागिरि नगरपालिका विरोध प्रदर्शन
थानकोट ।
प्रधानमन्त्री वालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्तिको विरोधमा बलम्बुस्थित चन्द्रागिरि नगरपालिकाको मुख्यालय बाहिर नगर क्षेत्रमा क्रियाशील विभिन्न पाँच वामपन्थी राजनीतिक घटकले बिहीबार विरोध प्रदर्शन गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी,(माओवादी) नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा चन्द्रागिरि नगर कमिटिका प्रतिनिधिहरू सो प्रदर्शनमा सहभागी भएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।
प्रदर्शनपश्चात उनीहरूले चन्द्रागिरि नगरपालिकामार्फत प्रधानमन्त्री कार्यालयलाई सम्बोधन गरिएको ज्ञापनपत्रसमेत बुझाएका छन्।
प्रदर्शनकारीहरूले प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसले राष्ट्रिय संवेदनशील विषयमा गलत सन्देश दिएको आरोप लगाएका छन् ।
उनीहरूले उक्त अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय अखण्डताको रक्षा गरौं, सीमाबारे गलत बोल्न पाइँदैन, झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन, जिम्मेवार बोल, सत्य बोल, राष्ट्रको सम्मान जोगाऊ लगायतका प्लेकार्ड र ब्यानर बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा कार्यकर्ताहरूले नाराबाजी गर्दै सरकारलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गरेका थिए ।












