एसियन गेम्स पुरुष क्रिकेट छनोटः नेपाल फाइनलमा, ओमान आठ विकेटले स्तब्ध

Thankot Times

थानकोट ।

ओमानविरुद्व आठ विकेटको सहज जित निकाल्दै नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनल प्रवेश गरेको छ । आइतबार सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा ओमानले प्रस्तुत गरेको ९४ रनको लक्ष्य नेपालले ९.२  ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालका लोकश बमले अविजित ४४ रनको इनिङ खेले । उनले २६ बलमा सात चौका र एक छक्का प्रहार गरे । रोहितकुमार पौडेलले अविजित २१ र कुशल भुर्तेलले २० रन बनाए । तेस्रो विकेटका निम्ति लोकेश र रोहितले अविजित ६८ रनको साझेदारी गरे ।

ओमानका निम्ति दुवै विकेट समीर ओटमनले लिए ।

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो ।

ओमानका कप्तान सफ्यान मेहमुदले ३८, जुबैर अल बलुशीले २२ र  अब्दुल जाइलले १६ रन बनाए ।

नेपालका करण केसीले तीन विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले दुई/दुई, शाहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीका नाममा एक/एक विकेट रह्यो ।

नेपालले अब उपाधिका निम्ति हङकङ र मलेसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ