भन्सार छलीका तीनवटा गाडीसहित दुई जना ललितपुरबाट पक्राउ

Thankot Times

थानकोट ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भन्सार छलेर ल्याइएका तीनवटा चारपाङ्ग्रे गाडीसहित दुई जनालाई पक्राउ गरेको छ।

भारतबाट भन्सार छली ल्याएर बिक्री वितरण गर्न लागिएको अवस्थामा प्रहरीले उनीहरूलाई गत शुक्रबार ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

ललितपुर महानगरपालिका वडा नम्बर ५ कुसुन्तीमा भन्सार छलीका गाडीहरू बेच्नका लागि राखिएको भन्ने विशेष सुराकी प्रहरीले पाएको थियो। सोही सूचनाका आधारमा अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उक्त स्थानमा छापा मारेको थियो। प्रहरीले घटनास्थलबट तीनवटा गाडी नियन्त्रणमा लिएको छ।

बरामद गरिएका सवारीसाधनहरूमा निसान कम्पनीको ‘एक्स-ट्रेल’ एक थान, निसान कम्पनीकै ‘सेफिरो’ एक थान र हुन्डाई कम्पनीको ‘क्रेटा’ एक थान रहेका छन्।

भन्सार छलीका गाडीसहित पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर १७ स्थायी घर भई हाल ललितपुरको कुसुन्ती बस्ने ६९ वर्षीय विश्वचन्द्र वादे श्रेष्ठ र ललितपुर महानगरपालिका वडा नम्बर १२ लगनखेलका ५३ वर्षीय नवीन जिसी रहेका छन्।

प्रहरीका अनुसार श्रेष्ठलाई गाडीहरू राखिएको स्थान कुसुन्तीबाटै पक्राउ गरिएको हो भने जिसीलाई ललितपुरकै वडा नम्बर १४ थसीखेलबाट पक्राउ गरिएको हो।

पक्राउ परेका दुवै जनालाई बरामद गरिएका तीनवटै गाडीसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि पठाइएको छ।

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

घटनाको विषयमा भन्सार कार्यालयले थप अनुसन्धान अगाडि बढाउनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *