आज बिहीबार कतै यात्रा गर्दै हुनुहुन्छ ? साथमा छाता वा वर्षादी भिर्न नभुल्नुहोला…
थानकोट ।
देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मध्यमसम्मको वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थान, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको पूर्वानुमान छ ।
विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग तथा कोसी, मधेस, वाग्मती, गण्डकी प्रदेशलगायत कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा/हिमपातको सम्भावना छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ ।
केही दिन अघिदेखिको लगातार तातो दिनको पूर्वानुमान गर्दै आएको विभागले आज भने तातो हावाको लहरको चेतावनी दिएको छैन । धेरै ठाउँमा वर्षाको पूर्वानुमान गरेको छ ।
यसैबीच, मौसमविद् विनोद पोखरेलले आगामी दुई दिन लुम्बिनी, वाग्मती र मधेस प्रदेशका दक्षिणी भागहरूमा भारी वर्षा हुने सम्भावना रहेको बताएका छन् । भारी वर्षा गराउने वातावरण अनुकूल बनाउने बादल पछिल्लो १० घण्टादेखि लागिरहेको उनले प्रस्ट पारेका छन् ।
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ ।












