फिफा विश्वकप फुटबल २०२६: नर्वे र फ्रान्सको विजयी सुरुवात

Thankot Times

थानकोट ।

फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कूल चार गोल भए । खेलको ६६औँ मिनेटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने खेलको ८२औँ मिनेटमा ब्राड्ली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका लागि सान्त्वना गोल इब्राहिम एम्बायेले गर्दै खेललाई २-१ को अवस्थामा ल्याए । यद्यपि त्यसको अर्को मिनेटमा फ्रान्सका लागि एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३-१ मा पुर्‍याए ।

समूह ‘आई’ अन्तर्गत भएको नर्वे र इराकबीचको खेलमा नर्वे विजयी बन्यो ।

अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान भएको समूह ‘आई’को खेलमा नर्वेले इराकलाई ४-१ गोलअन्तरले पराजित गर्‍यो ।

नर्वेको जितमा एर्लिङ हाल्यान्डले दुई र लियो ओस्टिगार्डले एक गोल गर्दा एक गोल उपहार पायो । इराकका आयमन हुसेनले सान्त्वना गोल गरे ।

फिफा वरीयतामा नर्वे ३१ औँ स्थानमा छ भने इराक ५७ औँ स्थानमा छ । यो जितसँगै विश्वकप-२०२६ मा नर्वेले ३ अंक जोडेको छ।

प्रतियोगिता अन्तर्गत अहिले समूह ‘जे’अन्तर्गत अर्जेन्टिना र अल्जेरिया (नेपाली समय ६:४५) तथा अष्ट्रिया र जोर्डन नेपाली समय ९:४५ भिड्दैछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *