फिफा विश्वकप फुटबल २०२६: अस्ट्रिया र अर्जेन्टिनाको सहज जित
थानकोट ।
फिफा विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हराएको छ ।
आज बुधबार सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा जोर्डन ३–१ गोलले पराजित भयो ।
अस्ट्रियाले खेलको २१औँ मिनेटमा रोमानो स्मिडको गोलबाट अग्रता बनाएको थियो ।
खेलको ५०औँ मिनेटमा अली ओलवानले जोर्डनका लागि बराबरी गोल फर्काए ।
जोर्डनले विश्वकपमा पहिलो गोलसमेत गरेको हो । तर खेलको ७६औँ मिनेटमा याजन अल अरबको उपहार गोलमा अस्ट्रिया २–१ ले अगाडि रह्यो । अनि खेलको इन्जुरी समयमा अस्ट्रियाका मार्को अर्नाटुभिकले पेनाल्टीमा गोल गरे ।
जोर्डनलाई ३–१ ले हराएसँगै समूह ‘जे’ को अस्ट्रियाले महत्त्वपूर्ण ३ अंक जोडेको छ ।
विश्वकप फुटबल अन्तर्गत बुधबार नै सम्पन्न अर्को खेलमा साबिक विजेता अर्जेन्टिनाले कप्तान मेसीको ह्याट्रिक गोलमा अल्जेरियालाई हराएको छ ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा उनले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गरेका हुन् ।
विश्वकप फुटबलमा मेसीको यो १६औँ गोल पनि हो ।
मेसीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजसँग बराबरी गरेका छन् ।
क्लोजले १६ गोल गरेका थिए ।
मेसी र क्लोजपछि फ्रान्सका एम्बाप्पेले १४ गोल गर्दै पछ्याइरहेका छन् ।
आजको खेलको शुरुआतमै अर्जेन्टिनाका मेसी र अल्जेरियाका फारेस चाइबीको प्रहारले पोस्टको दिशा लिए पनि त्यसले मान्यता पाएन ।
साबिक विजेता अर्जेन्टिनाले यो विश्वकपमा विजयी शुरुआत गरेको हो ।
छैटौँपटक विश्वकप खेल्ने मेसी पहिलो खेलाडी पनि बनेका छन् ।
मेसीले अर्जेन्टिनाका लागि दुई सयौँ क्याप पनि जितेका छन् ।
विश्वकप फुटबलमा आज राति पौने ११ बजे पोर्चुगल र कङ्गोले खेल्दैछन् ।
भोलि बिहान पाैन १ बजे क्रोएसियाले इंग्ल्याण्डको सामना गर्दा बिहान पाैने ५ बजे पनमा र घानाबीच हुनेछ ।
यस्तै, बिहान पाैने ८ बजे कोलम्बियाले उज्वेकिस्तासँग प्रतिस्पर्धा गर्नेछ ।














