फिफा विश्वकप फुटबल २०२६: फ्रान्स र अर्जेन्टिना नकआउट चरणमा, मेस्सीको कीर्तिमानी गोल

Thankot Times

थानकोट ।

जारी विश्वकप फुटबलमा इराकलाई हराउँदै फ्रान्स नकआउट चरण प्रवेश गरेको छ ।

समूह ‘आइ ‘मा लगातार दोस्रो खेल जित्दै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो । मंगलबार बिहान सम्पन्न खेलमा फ्रान्सले इराकलाई ३-० ले हराएको हो ।

फ्रान्सका क्लियन एम्बाप्पेले दुई गोल गरे । उनले खेलको १४ औँ र ५४ औँ मिनेटमा गोल गरेका थिए । विश्वकपमा एम्बाप्पले जर्मनका स्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोलको रेकर्डसँग बराबरी गरेका छन् ।

पहिलो हाफको अन्यतिर अत्यधिक वर्षा भएपछि खेल केही समय प्रभावित बनेको थियो ।

दोस्रो हाफ निकै ढिला सुरु भएको थियो । दोस्रो हाफको ६६ औँ मिनेटमा ओसामे डेम्बेलेले गोल गर्दै नतिजा ३-० को स्थितिमा ल्याएका थिए ।

यसअघि फ्रान्सले सेनेगललाई ३-१ ले पराजित गरेको थियो ।

इराकसँग पनि विजयी भएसँगै फ्रान्स ६ अंकसहित तालिकाको शीर्षस्थानमा रहेको हो ।

यसअघि सोमबार राति सम्पन्न खेलमा लियोनल मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाले जित हात पारेको छ । अष्ट्रियासँगको खेलमा अर्जेन्टिना २-० ले विजयी भएको हो ।

मेस्सीले खेलको ३८ औँ र इन्जुरी टाइममा गोल गर्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बने । उनले जर्मनीका स्ट्राइकर मिरास्लोभ क्लोजको १६ गोलको रेकर्डलाई भंग गरेका हुन् ।

अल्जेरियासँगको खेलमा ह्याट्रिक गर्दै मेस्सीले क्लोजको १६ गोलको रेकर्डसँग बराबरी गरेका थिए । अष्ट्रियासँगको खेलमा दुई गोल गरेसँगै विश्वकपमा मेस्सीको गोलसंख्या १८ पुगेको छ ।

प्रतियोगिताअन्तर्गत अहिले नर्वे र सेनेगलबीच खेल भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *