रास्वपा सभापति लामिछानेले लिए शपथ
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित सभापति रवि लामिछानेले शपथ लिएका छन् ।
निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले र अनुशासन आयोगका अध्यक्ष रमाकान्त नेपालसमेतको साथमा सभापति लामिछानेलाई शपथ ग्रहण गराएका हुन् ।
सपथ लिएपछि रवि लामिछानेले महाधिवेशनको आन्तरिक निर्वाचन परिणामलाई जित र हारको साँघुरो घेराबाट नलिन आग्रह गरे ।
पदाधिकारी र केन्द्रीय सदस्यहरूको निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले यस लोकतान्त्रिक प्रक्रियामा सिङ्गो पार्टी विजयी भएको बताए।
सभापति लामिछानेले आन्तरिक प्रतिस्पर्धाले पार्टीलाई थप एकताबद्ध र बलियो बनाएको जिकिर गरे।
‘यो निर्वाचनमा कसैको हार भएको छैन, सिङ्गो रास्वपाले जितेको छ,’ लामिछानेले भने, ‘प्रजातान्त्रिक अभ्यासमा अंकगणित तलमाथि हुनु स्वाभाविक हो, तर यसले हाम्रा नेताहरूको योग्यता र प्रतिबद्धतालाई कम गर्दैन।’
उनले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै निर्वाचनमा प्रतिस्पर्धा गरेका सबै नेताहरूको क्षमता र अनुभवलाई पार्टी निर्माणमा उचित स्थान दिइने प्रतिबद्धता जनाए।
‘अब हामी एउटै घण्टीमुनि गोलबद्ध भएर देश निर्माणको महाअभियानमा होमिनुपर्छ,’ उनले थपे, ‘जनताले हामीबाट ठूलो आशा राखेका छन्, त्यसैले रिस–राग र मनमुटाव त्यागेर सबै एक ढिक्का भई अगाडि बढ्नुको विकल्प छैन।’










