छैटौं थाहा गोल्डकपः चन्द्रागिरिको कुर्दन एकेडेमी र चित्लाङ एफसी फाइनलमा

Thankot Times

थानकोट ।

मकवानपुरको थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौरमा जारी छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि चित्लाङ फुटबल क्लब र चन्द्रागिरि नगरको कुर्दन एकेडेमीबीच प्रतिस्पर्धा हुने भएको छ ।

पहिलो सेमिफाइनलमा चित्लाङ एफसीले शिखर क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।

चित्लाङ एफसीको जितमा साइमन लामा र सन्देश गोम्बाले एक–एक गोल गरे भने शिखर क्लबका प्रशान्त रजकले एक गोल फर्काए।

त्यस्तै, दोस्रो सेमिफाइनलमा कुर्दन एकेडेमीले बतासे फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

कुर्दन एकेडेमीका सुजित बुढाथोकी, दावा नोर्वु सेर्पा र अविरल रिजालले एक–एक गोल गर्दै टोलीलाई सहज जित दिलाए।

प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले १ लाख रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यस्तै, व्यक्तिगत विधाको पुरस्कारतर्फ उत्कृष्ट खेलाडीलाई १२ हजार ५०० रुपैयाँ, तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई जनही ६ हजार २५० रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

फाइनल खेल आज शनिबार दिउँसो १२ बजेदेखि हुने तालिका रहेको छ ।

तस्बिरः शम्भु अधिकारी


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ