फिफा विश्वकप फुटबल २०२६: इरान नकाउट चरणमा प्रवेश गर्ने सम्भावना जिवितै
थानकोट ।
फिफा विश्वकप फुटबलमा बेल्जियम समूह ‘जी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको छ ।
यो समूहका इरान र इजिप्टले बराबरी खेलेका छन् । अनि न्यूजिल्याण्ड बाहिरिएको छ । आज बिहान भएको खेलमा बेल्जियमले न्युजिल्यान्डलाई ५–१ गोलको फराकिलो अन्तरले हरायो । उसका ट्रोसार्डले दुई तथा केभिन डे ब्रुएना, रोमेलु लुकाकु र एलेक्सिस सेलेमेकर्सले एक/एक गोल गरे ।
न्युजिल्यान्डका एलिजाह जस्टले एक गोल फर्काए । समूह ‘जी’ कै अर्को खेलमा इजिप्ट र इरानले एक-एक गोलको बराबरी खेले । इरान पेनाल्टीमा चुक्यो भने इन्जुरी समयमा भएको गोल अफसाइड भयो ।
इजिप्टका महमुद साबेरले खेलको पाँचौँ मिनेटमा गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । तर १४ औँ मिनेटमा रमिन रजाइनले गोल फर्काए । त्यसपछि थप गोल हुन सकेन । समूह ‘जी’मा ५ अङ्कसहित बेल्जियम शीर्ष र समान ५ अङ्क रहेको इजिप्ट दोस्रो स्थानमा छ । अपराजित इरान ३ अङ्कसहित तालिकामा तेस्रो हुँदा नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ ।
विश्वकप फुटबलमा आज राति र भोलि बिहान गरी ६ वटा खेल हुँदैछन् । यसअघि आजै भएको विश्वकप फुटबलमा स्पेनले उरुग्वेलाई १ गोलले पराजित गर्दे समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ । यो खेलमा स्पेनका एलेक्स बाएनाको एक मात्र गोल निर्णायक भयो । उनले खेलको ४२औँ मिनेटमा गोल गरे । जितपछि स्पेन समूह ‘एच’मा ७ अङ्क जोडेर समूह विजेता बनेको छ ।
समूहमा दुई बराबरी र एक हारबाट उरुग्वे २ अङ्कसहित तेस्रो स्थानमा रह्यो । अर्को खेलमा केप भर्डे र साउदी अरबले गोलरहित बराबरी खेलेपछि केप भर्डे विश्वकप फुटबलको डेब्यूमै समूह चरणमा अपराजित रहेर अन्तिम ३२ मा प्रवेश गरेको छ । तीनै खेल बराबरी खेलेको केप भर्डेको ३ अङ्क छ । केप भर्डे यो समूहको उपविजेता बन्यो । यो उसको ऐतिहासिक प्रदर्शन पनि हो ।
समूह ‘एच’ मा साउदी अरबले २ अङ्क मात्रै जोड्न सक्यो । दुई पटकको विश्व विजेता उरुग्वेसँगै साउदी अरब पनि समूह चरणबाटै बाहिरियो । नकआउट चरणमा अब केप भर्डेले साबिक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।










