झ्याप्प-झ्याप्प गइरहेको छ बिजुली ? यस्तो छ प्राधिकरणको भनाइ
थानकोट ।
अहिले देशभर भइरहेको ‘झ्याप्प–झ्याप्प’ बिजुली जाने समस्याले सर्वसाधारण हैरान छन् ।
लोडसेडिङ हटेको लामो समय भइसक्दा पनि नियमित र गुणस्तरीय विद्युत् आपूर्तिको समस्या भने उस्तै छ । बिहान, दिउँसो र बेलुका काठमाडौँ उपत्यकासहित देशभर पटक–पटक विद्युत् अवरुद्ध हुने गरेको छ ।
देशमा विद्युत् उत्पादन पर्याप्त रहेको र लोडसेडिङ अन्त्य भएको दाबी गरिए पनि उत्पादन वृद्धि हुँदा समेत किन लोडसेडिङकै झल्को दिने गरी बत्ती गइरहेको छ ? उपभोक्ताहरूको यो गुनासो अझै कम हुन सकेको छैन् । विशेषगरी शहर बजार र अत्यधिक गर्मी भइरहेका तराईका जिल्लाहरूमा बारम्बार बत्ती जाँदा जनजीवन कष्टकर बनिरहेको छ ।
प्राधिकरणका अनुसार अहिले विद्युत् प्रणालीमा उत्पादन र आपूर्तिको अभाव छैन् । वर्षायाम सुरु भएसँगै जलविद्युत् उत्पादन झनै बढिरहेको छ । यस्तो अवस्थामा उत्पादनको समस्या नभई वितरण र प्रणाली व्यवस्थापनमा देखिने प्राविधिक त्रुटिका कारण केही क्षेत्रमा समस्या देखिएको प्राधिकरणको दाबी छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले सामान्य अवस्थामा ट्रिपिङको समस्या नरहेको बताए ।
कतिपय क्षेत्रमा हावाहुरी चल्ने र पानी पर्ने भएकाले प्रणालीमा प्राविधिक समस्या आउँदा ट्रिपिङ हुने गरेको उनको तर्क छ । गर्मी बढेसँगै लोड पनि बढ्ने र त्यसले गर्दा प्राविधिक समस्या निम्तिने गरेको उनले उल्लेख गरे । लोडसेडिङ नभएको र नहुने जिकिर गर्दै उनले भने, ‘प्राविधिक समस्या आउँदा सुरक्षाका कारण विद्युत् आपूर्ति बन्द गर्नुपर्ने हुन्छ । पुनः प्रणाली सञ्चालन गर्न समय लाग्ने र मौसम प्रतिकूल हुँदा कहिलेकाहीँ सिस्टम कोल्याप्स भएर बिजुली जाने गरेको हो ।’
प्राधिकरणले देशभर देखिएका यस्ता समस्या समाधानका लागि निरन्तर काम गरिरहेको जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार नेपालले अहिले रातको समयमा ६५० मेगावाटभन्दा बढी बिजुली भारत निर्यात गरिरहेको छ । हाल नेपालको विद्युत् जडित क्षमता ४२०० मेगावाट नाघेको छ भने ‘पिक आवर’ (उच्च खपत हुने समय) को माग २२०० देखि २३०० मेगावाट मात्र छ ।
ट्रान्समिसन लाइन (प्रसारण लाइन) को क्षमता कम हुनु पनि विद्युत् आपूर्तिको अर्को मुख्य समस्या हो । ४०० केभी क्षमताको लाइन चाहिने स्थानमा १३२ देखि २२० केभीका लाइन मात्र रहेकाले ओभरलोडिङको समस्या हुने गरेको प्राधिकरणले जनाएको छ । साथै, ठाउँ–ठाउँमा ट्रान्सफर्मरमा आउने समस्या र भोल्टेजमा भइरहने फेरबदलले पावर प्लान्ट र समग्र राष्ट्रिय प्रणालीमै असर पुग्ने गरेको छ ।









