चन्द्रागिरि क्षेत्रमा बिहानैदेखि भारी वर्षा, दिउँसोपनि वर्षा जारी रहने पूर्वानुमान
थानकोट ।
देशका धेरै स्थानमा आज वर्षाको सम्भावना छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभागनजिक रहेका कारण वर्षाको सम्भाजना रहेको हो । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
केही प्रदेशमा आज भारीदेखि अति भारी वर्षाको पूर्वानुमान छ । कोसी र वाग्मती प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराइ, कर्णाली प्रदेशको पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
विभागले राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बादल लाग्ने बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ ।
कोसी र वाग्मती प्रदेशका हिमाली भूभागका धैरै स्थान, गण्डकी प्रदेशको हिमाली क्षेत्रको केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको पूर्वानुमान छ ।
लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोसी र वाग्मती प्रदेशको पहाडी र तराई भूभाग तथा मधेस प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
कोशी र वाग्मती प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ । काठमाडौंसहित देशका विभिन्न स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ ।
जलवायुविज्ञ धर्मराज उप्रेती मनसुनी वायु सक्रिय हुँदा मनसुनी वर्षा बलियो हुँदै गएको बताउँछन् । तर, देशको सबै भागमा एकनासको वर्षा नरहेको उनी प्रस्ट पार्छन् ।
“कोसी प्रदेशको ठाउँ–ठाउँमा भारी वर्षा भएको देखिन्छ । धरानमा भारी वर्षा भएको छ । चिवनतिर पनि भारी वर्षा हुँदै गरेको देखिन्छ,” उप्रेती फेसबुकमा लेख्छन्, “काठमाडौंको मध्य भाग र उत्तरी भाग बालाजुतिर मध्यम वर्षा बिहान १०–११ बजेसम्म रहनेछ ।”
काठमाडौंमा दिउँसो केही कम भए पनि साँझदेखि भोलिसम्म भारी वर्षाको सम्भावना रहेको उनको भनाइ छ । यो वर्षा काठमाडौं वरिपरि फैलिँदै गएको उनले बताए ।
“सुदूरपश्चिमको कैलालीको चुरे क्षेत्रमा मध्यम वर्षाले पथरिया नदीको जलसतह बढेको छ । धनगढी पश्चिम कञ्चनपुरसम्म खासै वर्षा भएको छैन,” जलवायुविज्ञ उप्रेती भन्छन्, “तर, कैलालीकै पूर्वी भाग लम्किचुवामा मध्यम वर्षा हुँदै छ । कोहलपुर, दाङमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।”
उनका अनुसार समग्रमा देशको पूर्वी भागमा आज र भोलि मनसुन सक्रिय रहनेछ । त्यसैले बाढी, डुबान र पहिरोको जोखिम हुनसक्ने सम्भावना भएकाले सतर्कता आवश्यक रहेको उनको भनाइ छ ।









