एसीसी महिला यू-१९ प्रिमियर कप: नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा
थानकोट ।
नेपालले समूह विजेताका रूपमा एसीसी महिला यू–१९ प्रिमियर कपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ ।
मंगलबार मलेसियाको बायोमास ओभलमा भएको समूह ‘डी’अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले हङकङमाथि १८१ रनको एकर्फी जित दर्ता गर्यो ।
समूहका तीनै खेलमा जित निकालेको नेपालले ६ अंक जोडयो । नेपालले यसअघि कतार र सिंगापुरलाई हराएको थियो ।
लगातार दोस्रो पराजय व्यहोरेको हङकङको दुई अंक छ । हङकङले यसअघि सिंगापुरलाई हराएको थियो । हङकङ कतारसँग पराजित भएको थियो ।
नेपालले प्रस्तुत गरेको २१२ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभर नै ब्याटिङ गरेर नौ विकेट गुमाउँदै ३० रन मात्र बनाउन सक्यो ।
हङकङका निम्ति वाङ हेइलीले १३ रन बनाइन् । अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालकी कप्तान सोनी पाख्रिनले सर्वाधिक चार विकेट लिइन् ।
मनीषा उपाध्यायले दुई तथा क्रिस्मा गुरुङ र स्नेहा महरनले एक/एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनाएको थियो ।
कप्तान सोनीले सर्वाधिक ९० रनको योगदान गरिन् । उनले ६० बलमा १३ चौका र एक छक्का प्रहार गरिन् ।
सावित्री धामीले ५२ रन बनाइन् ।
उनले ३६ बलमा ६ चौका प्रहार गरिन् ।
अलिशनकुमारी यादव २३ रनमा अविजित रहिन् ।









