अब २४ घण्टामै नयाँ सवारी चालक अनुमतिपत्र उपलब्ध हुने
थानकोट ।
लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ कार्य पूर्ण रूपमा सम्पन्न भएको छ। अब यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्र नयाँ स्मार्ट लाइसेन्स छापेर उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याइएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मन्त्रालय, सुरक्षण मुद्रण केन्द्र र पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागबीच भएको सहकार्य तथा सम्झौताका आधारमा विभागबाट प्राप्त विवरणअनुसार कुल २७ लाख थान स्मार्ट लाइसेन्स छपाइ सम्पन्न गरिएको हो। यससँगै लामो समयदेखि कायम रहेको अनुमतिपत्र छपाइको बाँकी चाप (ब्याकलग) अन्त्य भएको मन्त्रालयले जनाएको छ।
स्मार्ट लाइसेन्स छपाइ व्यवस्थापनका लागि दुई चरणमा काम अघि बढाइएको थियो। पहिलो चरणअन्तर्गत २०८२ कात्तिक १२ गते भएको सम्झौताअनुसार १२ लाख अनुमतिपत्र निर्धारित अवधिभित्र छापिएको थियो। बाँकी विवरण व्यवस्थापन गर्न २०८३ वैशाख ४ गते दोस्रो चरणको सम्झौता गरी थप १५ लाख लाइसेन्स छपाइ प्रक्रिया अघि बढाइएको थियो।
दोस्रो चरणको काम २०८३ असार ३२ गते सम्पन्न भएपछि कुल २७ लाख स्मार्ट लाइसेन्स छपाइ पूरा भएको मन्त्रालयले जानकारी दिएको छ।
हाल सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागबाट दैनिक प्राप्त हुने विवरणका आधारमा नयाँ अनुमतिपत्र छपाइ गरिरहेको छ। ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा अनुमतिपत्र नवीकरण गरेका सेवाग्राहीको विवरण प्राप्त भएपछि करिब ३ हजारदेखि ५ हजारसम्म स्मार्ट लाइसेन्स दैनिक रूपमा २४ घण्टाभित्र छापेर विभागलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
यस व्यवस्थाले नयाँ सवारी चालक अनुमतिपत्र वितरण प्रक्रियालाई थप प्रभावकारी, छिटो र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार आगामी दिनमा सातै प्रदेश सरकार र सम्बन्धित यातायात मन्त्रालयसँग समन्वय गरी सुरक्षण मुद्रण केन्द्रमार्फत सवारी चालक अनुमतिपत्र छपाइसम्बन्धी थप सम्झौता गर्ने तयारी भइरहेको छ।
सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाको पहल र समन्वयमा स्मार्ट लाइसेन्स छपाइको दीर्घकालीन समस्या समाधानलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ। मन्त्री तिमिल्सिनाले पदभार ग्रहण गरेपछि नागरिकलाई सहज र समयमै सेवा उपलब्ध गराउने उद्देश्यसहित वर्षौँदेखिको अनुमतिपत्र छपाइ समस्या समाधानलाई प्रमुख कार्यसूचीमा राखेको मन्त्रालयको भनाइ छ।
सुरक्षण मुद्रण केन्द्रले सवारी चालक अनुमति पत्रसँगै नागरिकता, राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क स्टिकर, हुलाक टिकट तथा जग्गाधनी प्रमाणपत्रजस्ता अन्य सुरक्षण मुद्रण सामग्री पनि स्वदेशमै उत्पादन गर्ने तयारी अघि बढाएको जनाएको छ।
सुरक्षण मुद्रण सामग्रीको उत्पादन स्वदेशमै विस्तार हुँदा विदेशी मुद्रा बाहिरिनबाट जोगिनुका साथै आन्तरिक स्रोत परिचालन, रोजगारी सिर्जना र सार्वजनिक सेवा प्रवाहको गुणस्तर सुधारमा समेत सहयोग पुग्ने मन्त्रालयले जनाएको छ।









