नागढुङ्गा सुरुङ मार्गको शिलान्यास भएको शिलालेख हरायो
थानकोट ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दा राखिएको शिलालेख हराएको छ ।
०७६ साल कात्तिक ४ मा उद्घाटन गरिएको सुरुङमार्गमा राखिएको शिलालेख हराएको हो ।
उक्त शिलालेख नभेटिएको र खोजी भइरहेको सुरुङमार्गका आयोजना प्रमुख सौजन्य नेपालले बताए । “सामाजिक सञ्जालमा शिलालेख हटाइएको भन्ने कुराहरू आइरहेको छ, हटाइएको होइन,” उनले भने, “त्यो कतै मिस भएको जस्तो छ, हामी खोजी गर्दै छौँ ।”
आयोजना निर्माण गर्दा उक्त शिलालेख कतै हराएको हुन सक्ने उनको भनाइ छ ।
सोमबार (साउन ११) सुरुङमार्गको उद्घाटन गरिँदै छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न यो आयोजनाको कुल लागत करिब १९ अर्ब रुपैयाँ हो ।
सुरुङको लम्बाइ २.६८ किलोमिटर छ ।
सुरुङभित्रको निकास मार्ग (इभ्याकुएसन टनेल) र क्रस-प्यासेज समेत गणना गर्दा कुल लम्बाइ करिब ५.५ किलोमिटर पुग्छ ।
फाइल फोटोः दिपेश श्रेष्ठ










