नागढुङ्गा सुरुङ मार्गबाट ओलीको शिलालेख हटाइएको भन्दै एमाले चन्द्रागिरि नगर कमिटीको आपत्ति

Thankot Times

थानकोट ।

नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको उद्घाटनको पूर्वसन्ध्यामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम अङ्कित शिलान्यास शिलालेख हटाइएको भन्दै नेकपा एमाले चन्द्रागिरि नगर कमिटीले घोर आपत्ति जनाएको छ ।

नगर कमिटीका अध्यक्ष उत्तम बहादुर राउतद्वारा जारी ‘इतिहास नमेटाऊ’ शीर्षकको विज्ञप्तिमा शिलान्यासको शिलालेख नियतवश हटाइएको दाबी गर्दै त्यसको भर्त्सना गरिएको छ ।

२०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री ओलीले शिलान्यास गरेको यो राष्ट्रिय गौरवको आयोजनाले नेपाललाई आधुनिक सुरुङ युगमा प्रवेश गराएको उल्लेख गर्दै एमालेले वर्तमान सरकार इतिहास मेट्ने खेलमा लागेको आरोप लगाएको छ ।

विज्ञप्तिमा सुरुङ मार्गले राजधानी आवतजावत गर्ने यात्रीहरूलाई सहजता थप्ने र यातायात क्षेत्रमा अग्रगामी छलाङ मार्ने भन्दै आयोजनाप्रति आभार प्रकट गरिएको छ। तर, पूर्वाधार निर्माणको सुरुआत गर्ने नेतृत्वको योगदान बिर्सिएर इतिहास मेटाउन खोज्नु कुनै पनि बहानामा स्वीकार्य नहुने चेतावनी दिइएको छ ।

साथै, सुरुङ मार्ग निर्माणका क्रममा प्रभावित क्षेत्रका बासिन्दाले भोगेका समस्याहरूप्रति पनि एमालेले ध्यानाकर्षण गराएको छ । प्रभावित स्थानीयका लागि खानेपानीको व्यवस्थापन, चर्किएका घरको क्षतिपूर्ति र स्थानीयलाई रोजगारी दिने दायित्वबाट सरकार पन्छिन खोजेको नगर कमिटीको ठहर छ ।

उता, सडक विभागका अधिकारीहरूले भने सुरुङ खन्ने क्रममा बबरमहल सारिएको उक्त शिलालेख आगजनीका क्रममा जलेर नष्ट भएको र खोजतलास भइरहेको दाबी गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ