नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन हुँदै, ७० मिनेटमा सबै कार्यक्रम सकिने

Thankot Times

थानकोट ।

नेपालमा निर्माण सम्पन्न भएको पहिलो आधुनिक सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा सुरुङमार्ग आजदेखि सञ्चालनमा आउने भएको छ।

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा सुरुङमार्गको औपचारिक उद्घाटन गरिने भएको हो।

उद्घाटन समारोह बिहान १०:२५ बजे सुरु भई मध्याह्न ११:३५ बजेसम्म सञ्चालन हुने कार्यक्रम तालिका सार्वजनिक गरिएको छ। कार्यक्रमको सुरुवात वैदिक विधि अनुसार पूजापाठ र स्वस्तिवाचनबाट हुनेछ। त्यसपछि औपचारिक समारोह अघि बढाइनेछ भने मन्त्री लम्सालले दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा सडक विभागका महानिर्देशक डा. विजय जैशीले सुरुङमार्ग निर्माण तथा आयोजनासम्बन्धी संक्षिप्त विवरण प्रस्तुत गर्नेछन्।

नेपाल-जापान सहकार्यमा निर्माण भएको आयोजनाको उद्घाटन समारोहमा जापान सरकार र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ।

कार्यक्रममा जाइकाका अध्यक्ष डा. तानाका अकिहिको र नेपालका लागि जापानी राजदूत माएदा तोरुले सम्बोधन गर्ने तय भएको छ।

समारोहका क्रममा अतिथिहरूले सुरुङको प्रवेशद्वारसम्म पैदल यात्रा गरी मुख्य उद्घाटन स्थलमा पुग्ने कार्यक्रम छ।

त्यसपछि भौतिक पूर्वाधार मन्त्री, जापानी राजदूत, जाइकाका अध्यक्ष, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकले संयुक्त रूपमा रिबन काटेर सुरुङमार्ग उद्घाटन गर्नेछन्।

उद्घाटन अवसरमा नेपालतर्फको शिलालेख मन्त्री लम्सालले अनावरण गर्ने तथा जापानी पक्षतर्फको स्मारक ढुंगा जापानी राजदूत र जाइकाका अध्यक्षले संयुक्त रूपमा अनावरण गर्ने कार्यक्रम रहेको छ।

औपचारिक उद्घाटनपछि मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र सवारी चलाएर सुरुङ मार्गमा नियमित आवागमनको सुरुवात गर्ने कार्यक्रम तय गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ