मन्त्री लम्सालको ‘क्वीक डिसिजन’ सुरुङ मार्ग प्रभावितका माग सम्बोधन, ११ बुँदामा भयो दस्तखत (अपडेट)

Thankot Times

थानकोट ।

नागढुङ्गा सुरुङ मार्ग प्रभावित चन्द्रागिरि नगरका स्थानीयहरूसँग पूर्वाधार विकास मन्त्रालयमा सोमबार ११ बुँदे सहमति भएको छ ।

बिहान नागढुङ्गा सुरुङ मार्ग उद्घाटन चन्द्रागिरि आएका मन्त्री सुनिल लम्सालले स्थानीयको भावना समेट्दै विभिन्न ११ बुँदामा सहमति गरेका हुन् ।

उनले बिहान स्थानीयहरूलाई दिउँसो मन्त्रालयमा छलफलमा आउन भनेका थिए । जसअनुसार चन्द्रागिरि नगरका जनप्रतिनिधिसहितको टोली मन्त्रालय पुगेको थियो जहाँ केही बेर अघि सहमति पत्रमा हस्ताक्षर भएको हो ।

उक्त छलफलमा सहभागी भएका मध्ये एकजना सहभागीले थानकोट टाइम्सलाई दिएको जानकारी अनुसार मन्त्रालयले ११ बुँदामा सहमति गरेको छ ।

जसमा चन्द्रागिरि वडा नं. १ र २ का आयोजना प्रभावित स्थानीयका लागि खानेपानी व्यवस्थपान गर्न लाग्ने विद्युत महशुल तथा सञ्चालन खर्च चन्द्रागिरि नगरपालिकालाई केन्द्रबाट अनुदानमार्फत उपलब्ध गराउने निर्णय भएको छ ।

यस्तै सुरुङ मार्गको पूर्वी पोर्टलमा रहेको डिपबोरिङबाट मोटर जडान गरि खानेपानी सञ्चालन गर्ने, खानेपानी तथा ढल व्यवस्थापन विभागसँग प्राविधिक सहयोग, अनुगमन र समन्वय गर्ने, प्रशासनिक र प्राविधिक अध्ययन तथा वित्तिय बजेट व्यवस्थापनका लागि आवश्यक प्रकृया अभिलम्ब अघि बढाउने निर्णय भएको छ ।

चर्किएका संरचना (घरहरू) का सम्बन्धमा यकिन अध्ययन अघि बढाउने र प्राप्त प्रतिवेदनको सिफारिसका आधारमा क्षतिपूर्ति प्रकृया अघि बढाउन मन्त्रालयले सहमति गरेको छ । यस्तै, मितेरी मार्गमा बजेट व्यवस्थापन निरन्तर गर्न मन्त्रालयले हरियो झण्डा देखाएको छ ।

सुरुङ मार्गको पूर्वी पोर्टलबाट दुरसञ्चार-किसिपिडीतर्फ जाने सडकका लागि आवश्यक पूर्वाधार निर्माण गर्न मन्त्रालयले बजेट व्यवस्था हुने भएको छ । सिस्ने खोलाबाट पानी पम्प गर्ने कार्यका लागि अध्ययन एवं निर्माण कार्य यथासिघ्र अघि बढाउने निर्णय भएको छ ।

सुरुङ मार्गमा स्थानीयहरूको रोजगारीका सम्बन्धमा वडाबाट सिफारिस प्राप्त गरि दक्षता र क्षमताको आधारमा नेपाल सरकाले व्यवस्था गर्ने भएको छ ।

यस्तै, प्रभावित क्षेत्रका स्थानीयले सुरुङ मार्ग प्रयोग गर्दा तिर्नुपर्ने दस्तुर सडक बोर्डबाट उचित सम्बोधन गर्नका लागि मन्त्रिपरिषद् मा पेश गर्ने तथा स्वीकृत भएपश्चात कार्यान्वयनमा लैजाने सहमति भएको छ ।

बैठकमा स्थानीयका तर्फबाट चन्द्रागिरि नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हरिश्याम रानामगर, वडा सदस्य कविराज खड्का, वडा नम्बर २ का कार्यवाहक वडा अध्यक्ष चन्द्रकुमार गिरी बस्नेत, वडा सदस्य लवराम सुवेदी, नागढुंगा-सिस्नेखोला सुरुङमार्ग उपभोक्ता खानेपानी समितिका अध्यक्ष गोपी सुर्खेती, सचिव हरि भुर्तेल र सदस्य नन्दकुमार सुवेदी, सीमधर दहचोक खानेपानी उपभोक्ता समितिका अध्यक्ष राम थापा र सचिव गणेश दुवाडीलगायतको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ