हेटौँडा र उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालन गर्न रुससँग सहकार्यको प्रस्ताव
थानकोट ।
नेपालले हेटौँडा र उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनका लागि रुससँग सहकार्यको प्रस्ताव गरेको छ ।
नेपालका लागि रुसी राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग शिष्टाचार भेट गर्ने क्रममा सो प्रस्ताव गरिएको हो ।
भेटवार्ताका क्रममा मन्त्री यादवले नेपालमा हाल बन्द रहेका सरकारी उद्योगहरू पुनः सञ्चालनका लागि रुस सरकारको प्राविधिक तथा आवश्यक सहयोगको अपेक्षा रहेको बताएकी थिइन् । “विशेषगरी हेटौँडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनका लागि सहकार्य गर्न प्रस्ताव राख्नुभयो,” मन्त्री यादवको सचिवालयले जनाएको छ ।
मन्त्री यादवको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै राजदूत सुरोभ्त्सेभले रुस सरकारसँग आवश्यक समन्वय गरी नेपालले उठाएका प्रस्तावहरूमा सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
भेटका क्रममा नेपाल र रुसबीचको व्यापार तथा आर्थिक सम्बन्धलाई थप विस्तार गर्ने, व्यापार सहजीकरणमा सहकार्य बढाउने र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ ।
रुसी राजदूत सुरोभ्त्सेभले नेपाल र रुसबीच व्यापार तथा आर्थिक फोरममार्फत भइरहेको सहकार्यलाई अझ प्रभावकारी बनाउने दिशामा नेपाल सरकारले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । उनले दुई देशबीचको आर्थिक तथा औद्योगिक सहकार्य आगामी दिनमा अझ मजबुत हुने धारणा व्यक्त गरेका थिए ।
सोही अवसरमा राजदूत सुरोभ्त्सेभले रुसका आर्थिक विकास मन्त्रीको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादवलाई रुस भ्रमणका लागि औपचारिक निमन्त्रणा हस्तान्तरण गरेका थिए ।
मन्त्री यादवले उक्त निमन्त्रणा स्वीकार गर्दै दुई देशबीचको सहकार्यलाई थप उचाइमा पुर्याउन भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेकी थिइन् ।










