आज आइतबार देशभर बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना
थानकोट ।
आज देशभर मौसम सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो हिमाली भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपात हुने सम्भावना छ भने पहाडी भू–भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।
दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान छ ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति पनि देशभर सामान्यतया बदली रहनेछ । हिमाली भू–भागका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
रातिको समयमा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा मध्यमसम्मको वर्षा हुन सक्नेछ । मधेश प्रदेश, कर्णाली प्रदेशको पहाडी भू–भाग तथा बागमती प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा पनि मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका साथै बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा राति भारी वर्षा हुन सक्ने सम्भावना छ ।











