स्रोत नखुलेको झन्डै ६० लाख रुपैयाँसहित नागढुङ्गा नाकाबाट दुई जना पक्राउ
थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको ५९ लाख ९३ हजार ५०० रुपैयाँसहित चिनियाँ नागरिक गुंग यागलगायत दुई जना पक्राउ परेका छन्।
प्रहरी प्रभाग नागढुङ्गाबाट २०८३ साउन २३ गते शनिबार साँझ खटिएको टोलीले सप्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको ज.१ च १६६४ नम्बरको स्कारपियो जाँच गर्ने क्रममा उक्त रकम फेला पारेको हो।
सवारीसाधनमा लुकाइछिपाइ ल्याइएको नगदको वैध स्रोत खुलाउन नसकेपछि स्कारपियोमा सवार चिनियाँ नागरिकसहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद रकमको स्रोत, प्रयोजन र ओसारपसारमा संलग्न अन्य व्यक्तिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।










