एमाले केन्द्रीय कमिटी बैठक भदौ दोस्रो साता बस्ने
थानकोट ।
पार्टी पुनर्गठनसम्बन्धी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदल प्रतिवेदन ‘होल्ड’ गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ दोस्रो सातासम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेका छन् ।
केन्द्रीय कमिटी बैठकअघि भदौ पहिलो साता सचिवालय बैठक बोलाउने र त्यसपछि केन्द्रीय कमिटी बैठक बोलाउनेबारे ओलीले आन्तरिक छलफल चलाएको ओली निकट स्रोतले जनाएको छ ।
‘सम्भवतः भदौ दोस्रो साता केन्द्रीय कमिटी बैठक बोलाउने कि भन्ने अध्यक्षको भनाइ छ । त्यसअघि सचिवालय बैठक पनि बस्न सक्छ’ ओली निकट एक पदाधिकारीले भने, ‘त्यसअघि अध्यक्षले पदाधिकारीसँग छलफल गर्नुहुनेछ ।’
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले केन्द्रीय कमिटी बैठकअघि सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्नसक्ने बताए ।
‘पहिला सचिवालय बैठक बसेर केन्द्रीय कमिटी बैठकको मिति तय गर्छ’, आचार्यले भने, ‘अहिलेसम्म सचिवालयकै मिति तय भैसकेको छैन ।’
उपाध्यक्ष थापा नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन मस्यौदा अध्यक्ष ओलीले लामो समयदेखि होल्ड गरेर राखेका छन् । ओलीले मस्यौदा होल्ड गरेर राख्दा मस्यौदालाई अन्तिम (प्रतिवेदन) को रूप दिन नै कार्यदलले सकेको छैन् ।
कार्यदल सदस्यहरूले संयोजक बादललाई कार्यदल बैठक छिटो बोलाउन बारम्बार आग्रह गर्दा पनि उनले बेवास्ता गर्दै आएको बताइन्छ ।
‘कार्यदल बैठक बोलाउन र प्रतिवेदनलाई अन्तिम रूप दिन संयोजकलाई सदस्यहरूले भनेका भन्यै छन् तर उहाँले बैठक बोलाउने सुरसार गर्नु नै भएको छैन’, कार्यदलका एक सदस्यले भने, ‘प्रतिवेदन मस्यौदामा अध्यक्षज्यूलाई केही कुरा चित्त नबुझ्दा प्रतिवेदन नै अलपत्र परिरहेको छ ।’
कार्यदलका सदस्यसचिव रहेका महासचिव शंकर पोखरेलले प्रतिवेदन मस्यौदा तयार गरेका थिए । तयार मस्यौदा पोखरेलले संयोजक थापालाई अध्ययन गर्न दिएका थिए तर थापाले उक्त मस्यौदा अध्यक्ष ओलीलाई बुझाएका थिए । ओलीले प्रतिवेदन मस्यौदाका कतिपय विषयमा असहमति जनाउँदै ‘होल्ड’ गरेको स्रोतको दाबी छ ।
‘प्रतिवेदनमा रहेको ‘समग्र पार्टी पुनर्गठन’ शब्दप्रति ओली असहमत हुनुभएको हुनसक्छ’, स्रोतले भन्यो, ‘सुझाव सङ्कलनका क्रममा समग्र पार्टी पुनर्गठन भनिएकाले उक्त शब्द प्रतिवेदनमा राखिएको हो तर त्यसमा उहाँ (अध्यक्ष)ले असन्तुष्टि जनाएको बुझिन्छ ।’ एमाले पुनर्गठन गर्दा ओलीसहितका नेताहरूले बिदा लिनुपर्ने आवाज उठ्दै आएको छ । तर मंसिरमा मात्र महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएको भन्दै ओली नेतृत्व छाड्न तयार छैनन् । ‘विधिसम्मत भएको महाधिवेशन र चयन भएको नेतृत्व कुबेलामा किन छाड्ने ?’, आफू निकटस्थ नेताहरूलाई ओलीले भन्ने गरेका छन् ।










