१५औँ महाधिवेशनको तयारी सुरु गर्ने नेपाली कांग्रेसको निर्णय

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारी सुरु गर्ने निर्णय गरेको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबारदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५औँ महाधिवेशनको आन्तरिक तयारीलाई तीव्रता दिने निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

यस्तै बैठकले जनजीविकाका समसामयिक समस्याहरूबारे सरकारको ध्यानाकर्षण गराउने निर्णयहरू गरेको पार्टी प्रवक्ता चालिसेले बताए ।

पार्टीले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव, विद्युत् महसुलमा लगाइएको भ्याट, किसानका लागि रासायनिक मलको चरम अभाव तथा बढ्दो महँगीप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

ग्यास भण्डारणको उचित व्यवस्थापन नहुनु र सरकारको अदूरदर्शी नीतिका कारण समस्या जटिल बनेको निष्कर्ष निकाल्दै आपूर्ति तत्काल सहज बनाउन सरकारसँग माग गरिएको छ ।

बैठक भोलि पनि निरन्तर चल्ने उनको भनाइ छ । मंगलबार बस्ने बैठकमा राजनीति र अन्य विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *