आज मंगलबार दिनभरको मौसम पूर्वानुमान जान्नुहोस्
थानकोट ।
आज दिउँसो देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा बदली रहने मौसम पूर्वानुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखकाअनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लाग्नेछ ।
देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने जनाइएको छ ।
कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यसैगरी, आज राति देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बादल लाग्ने तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ । हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ भने तराईका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।










