सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देश
थानकोट ।
सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसदमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिन निर्देश गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्रीले सोधिएका प्रश्नको जवाफ नदिएसम्म संसद चल्न नदिने अडान लिएपछि सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई जवाफका लागि निर्देश गरेका हुन् ।
सभामुख अर्यालले सांसदहरूले प्रधानमन्त्रीसँगको प्रश्न-उत्तरको माग गरेर गरिएको विरोधको ध्यानाकर्षण भएको जनाउँदै जवाफका लागि प्रधानमन्त्रीलाई निर्देश गरेको जनाकारी दिए ।
‘प्रतिनिधिसभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देशन गर्छु’, सभामुख अर्यालले भने ।
सभामुखको निर्देशपछि विपक्षी सांसदहरूले आफ्नो विरोध रोकेका छन् ।











