चन्द्रागिरिमा ब्याकयार्ड अल्ट्रा रेस-२०२६ सम्पन्न, अर्जुन कुलुङ राई र मन्जु सुनुवार च्याम्पियन
थानकोट ।
अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा रेस–२०२६ मा विजेता भएका छन् ।
अल्ट्रा ट्रेल नेपालको आयोजना भएको ट्रेलमा एक्सटेपबाट खेलेका अर्जुन पुरुष र महिलामा मन्जु विजेता भएका हुन् ।
अर्जुनले ३३ लुप पूरा गरी शीर्षस्थानमा रहेर नयाँ कोर्स रेकर्ड पनि बनाए । यसअघि ३२ लुपको कोर्स रेकर्ड हेमन्त रानाको नाममा थियो ।
मन्जुले पनि कोर्स रेकर्ड कायम गर्ने क्रममा १४ लुप पूरा गरिन् । यसअघि १२ लुपको कोर्स रेकर्ड थियो । शीर्षस्थानमा रहेका दुवैले जनही ३० हजार पुरस्कार हात पारे ।
दोस्रोदेखि दसौं स्थानमा रहनेका धावकले नगद पुरस्कार पाए ।
सहभागीले एक लुपमा ६.७ किलोमिटर दूरी १ घण्टाको समयमा तय गर्नुपर्ने थियो । त्यसो गर्न नसक्ने खेलाडी सिधै प्रतियोगिताबाट बाहिरिने नियम थियो ।
प्रतियोगिता निर्देशक दिवाकर बुढाले यस खालको प्रतियोगिताले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
आयोजकका अनुसार प्रतियोगतामा नेपाल, फ्रान्स, अमेरिका, डेनमार्क, नर्वे, स्विट्जरल्यान्डलगायत राष्ट्रबाट ६५ प्रतिस्पर्धी सहभागी थिए । दौड चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँबाट सुरु भई विभिन्न भागको परिक्रमापछि पुनः त्यही आएर टुंगिएको थियो ।
ब्याकयार्ड अल्ट्राको विश्व च्याम्पियनसिप १७ अक्टोबरमा पोखरामा हुने आयोजकले जनाएको छ ।











