‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, चन्द्रागिरिसहित चार स्थानीय तह जोडिए

Thankot Times

थानकोट ।

काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको वास्तविक अवस्था जानकारी लिन सकिने ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप सार्वजनिक गरिएको छ ।

संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को बुधवार बसेको तेस्रो बैठकमा परिषद्का अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले एप सार्वजनिक गरेकी हुन् । एपमार्फत जीपीएस जडान गरिएका सार्वजनिक सवारी साधनको स्थान तथा यात्रुले पर्खिरहेको स्थानमा सवारी पुग्न लाग्ने समयबारे जानकारी लिन सकिनेछ । एपमा हालसम्म एक हजार दुई सय सवारीसाधन जोडिएका छन् । बैठकमा अध्यक्ष डंगोलले उपत्यकाको सार्वजनिक यातायात सुधारका लागि स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताइन् । यातायात क्षेत्रको सुधार गर्न साझा पहल र वित्तीय साझेदारी आवश्यक रहेको उनको भनाई छ । यातायात क्षेत्रको सुधार कुनै एक पालिका वा स्थानीय तहले मात्र गर्न नसक्ने उनले बताइन् । उनले पाईलटिङका रूपमा शुरु गरेको रात्रिकालीन बस सेवा सफल भएको उल्लेख गर्दै सेवाको विस्तार आवश्यक रहेको बताए । उपत्यकाका चार वटा स्थानीय तहलाई समेट्ने गरी रुट तयार पारेर वैशाख १ गतेदेखि रात्रि बस सेवा सञ्चालनमा ल्याएको उनको भनाई छ ।

काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिका छुने गरी पाइलट रुट सञ्चालन गरिएको थियो । उनका अनुसार रात्रि बसमा हरेक महिना २२ हजारदेखि २५ हजारसम्म यात्रुले सेवा लिइरहेका छन् । जेठ महिनामा मात्रै २८ हजार यात्रुले रात्रि बस सेवा प्रयोग गरेको उनले बताइन् । रात्रि बस सेवा विशेष गरी श्रमिक वर्गका लागि आवश्यक देखिएको उनको भनाइ छ । उनले रात्रि बसका रुट थप विस्तार गर्न साझा यातायातसँग छलफल भइरहेको पनि जानकारी दिए ।

विद्यार्थीलाई लक्षित गर्दै बिहानको समयमा पनि थप छिटो सार्वजनिक सवारी सञ्चालन गर्ने योजना रहेको उनले बताइन । उनले यातायात क्षेत्रलाई व्यवस्थित बनाउनको लागी ‘केटिएम पब्लिक ट्रान्सपोर्ट’ एप सञ्चालन ल्याएको पनि जानकारी दिइन्।

उनले भनिन्, ‘यातायात क्षेत्रको सुधार एउटा मात्रै पालिका वा स्थानीय तहले गर्न सक्दैन, यो काठमाडौँले शुरु गरेमा ललितपुर, कीर्तिपुर वा भक्तपुरसँग जोडिएकै हुन्छ । एकअर्का पालिकासँग जोडिएको भएर यो सबैको साझा सवाल हो, यसको समाधानको लागी पनि हामीले साझा पहल गर्न आवश्यक छ । अहिले हामीले केटिएम पब्लिक ट्रान्सपोट एप लन्च गरेका छौँ, उपत्यकामा ३ हजार भन्दा बढी बसहरू रहेका छन्, अहिले हामीसँग एपमा १ हजार २ सय सवारीसाधन जोडिएका छन् । सुरुवाती दिनमा १ हजार २ सय सवारीको सूचना हुनु भनेको धेरै राम्रो कुरा हो, प्रहरीसँग ३ हजार भन्दा बढी सवारीको सूचना रहेको भन्ने कुरा आएको छ, त्यसलाई पनि जतिसक्दो छिटो यो एपमा ईन्टिग्रेस गरौँ र यसलाई निरन्तरता दिँदै लैजाउ ।

रात्रि बसको लागी हामीले वैशाख १ गतेबाट शुरु गरिसकेका छौँ, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ चार वटा पालिका छुने गरी हामीले पाईलेटिङको रूपमा एउटा रुट अगाडी सारेका छौँ, हरेक महिनामा २२ देखी २५ हजार यात्रु राती ८ बजेदेखि ११ बजेको भित्रमा बस चढ्नु हुँदो रहेछ । सबैभन्दा बढी जेठमा २८ हजार यात्रुले रात्रीसेवा बस प्रयोग गर्नुभएको छ । रात्रीसेवा बस चाहिने रहेछ भन्ने आवास भएको छ, विशेषसरि यो श्रमिक वर्गको लागी । ८ बजेपछि सवारी पाइँदैन तर काम सकिन्छ ९ बजे । श्रमिक वर्गलाई सबैभन्दा बढी रात्रि बस सेवाको आवश्यक रहेको हामीले महसुस गरेका छौँ । हामीले साझा यातायातसँग रुट अझ बढाउने गरी छलफल गरेका छौँ, बिहान विद्यार्थीलाई ध्यानमा राखेर अझ छिटो सवारी चलाउने पनि योजना छ, त्यसको लागी साझा बससँगै अरूसँग पनि सहकार्य गर्नुपर्छ । आफ्नो क्षमता अनुसार सबै स्थानीय तहले वित्तीय साझेदारी गरेर यो सेवा सञ्चालन गरौँ ।’

उनले सार्वजनिक यातायात सेवा विस्तारका लागि साझा यातायातसँगै अन्य यातायात व्यवसायी तथा सेवा प्रदायकसँग पनि सहकार्य आवश्यक रहेको उल्लेख गरिन् । उपत्यकाका सबै स्थानीय तहले आफ्नो क्षमताअनुसार वित्तीय साझेदारी गरी सार्वजनिक यातायात सेवा सञ्चालन गर्नुपर्ने उनको जोड थियो । परिषद्का उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यात्रुले सार्वजनिक बस प्रयोग गर्दा सहजता महसुस गर्ने गरी यातायात प्रणाली सुधार गर्नुपर्ने बताए ।

बैठकले चालु आर्थिक वर्षका लागि बस स्टपर तथा पिक-ड्रप प्वाइन्ट निर्धारण, रात्रि बस सञ्चालनका शर्त र सम्झौताको मोडल तयार गरी नगरपालिकासँग सहकार्य शुरु गर्ने निर्णय गरेको छ । त्यस्तै, स्थानीय तहसँगको साझेदारीमा मुख्य बस स्टप तथा बस पार्कमा जीपीएस ट्रयाकिङमा आधारित सार्वजनिक यातायात सूचना प्रणाली जडान गर्ने र नगदरहित भाडा प्रणाली लागू गर्न आवश्यक कानूनी पूर्वाधार तयार गर्ने कार्यक्रम बैठकले स्वीकृत गरेको छ । यात्रुले टिकट लिने संस्कारलाई प्रोत्साहन गर्न अभियान सञ्चालन गर्ने तथा सार्वजनिक यातायातसम्बन्धी अध्ययन र अनुसन्धानका कार्यक्रम अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।

परिषद् सदस्यको संख्या ३५ जना छ ।

संख्या धेरै भएकोले कार्य चुस्त बनाउन कठिन हुने भएपछि यसलाई चुस्त बनाउन परिषदका अध्यक्ष एवं कामपाका प्रमुखको अध्यक्षतामा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी सदस्य छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ