एसियाड तयारीको लागि टेनिस टोली भारत जाँदै
थानकोट ।
जापानमा हुने २० औँ एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि तीन खेलाडीसहित चार सदस्यीय नेपाली टेनिस टोली बिहीबार भारतको बैंगलुरु जाँदैछ।
टोलीका खेलाडीमा प्रदीप खड्का, निसान श्रेष्ठ र स्वस्तिका विष्ट रहेका छन भने प्रशिक्षकमा रेणुदेवी कोण्डा छिन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, राखेपका सदस्य-सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुललगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे।
खेलाडीले बैंगलुरुस्थित रोहन बोपना टेनिस एकेडेमीमा प्रशिक्षण गर्ने छन् ।
टोली सेप्टेम्बर ८ तारिख स्वदेश फर्किने छ ।
२० औँ एसियाडकै लागि छनोट भएका अभिषेक बाँस्तोला र शिभाली गुरुङ स्वदेश बाहिर प्रशिक्षणरत रहेको नेपाल टेनिस संघले जनाएको छ ।











