बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापामगर नियुक्त

Thankot Times

थानकोट ।

बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापामगर नियुक्त भएका छन् ।

१०४ सदस्यीय प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेकपा एमाले र राप्रपा गरी कुल ६३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले थापालाई बिहीबार (भदौ ४) नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि दुईपटकसम्म प्रदेशको स्वास्थ्य मन्त्रालय सम्हालेका थापा वाग्मतीको सातौँ मुख्यमन्त्री बनेका छन् । थापाभन्दा अगाडि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल, बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँ वाग्मती प्रदेशको मुख्यमन्त्री बनिसकेका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा (एमाले)का थापामगरको राजनीतिक यात्रा सामाजिक सेवाबाट सुरु भएको थियो । उनको शैक्षिक योग्यता आईए तहसम्मको रहेको छ ।

एमालेको भक्तपुर जिल्ला कमिटी सदस्य हुँदै उपाध्यक्षको जिम्मेवारी समेत सम्हालेका थापामगरले स्थानीय तहदेखि प्रदेश सरकारसम्म नेतृत्वको अनुभव हासिल गरेका छन् ।

वि.सं. २०७४ सालमा सूर्यविनायक नगरपालिका–८ को वडाध्यक्षमा निर्वाचित भएका उनले त्यसक्रममा नगरपालिकाको सामाजिक विकास समितिको संयोजकको जिम्मेवारीसमेत सम्हालेका थिए ।

वि.सं. २०७९ सालमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि थापामगर प्रदेश सरकारमा प्रवेश गरेका थिए । उनले वि.सं. २०८१ साउन ९ गतेदेखि २०८३ साल असारसम्म वाग्मती प्रदेशको स्वास्थ्यमन्त्रीका रूपमा दुईपटक जिम्मेवारी सम्हालेका थिए ।

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण समितिको सचिव, उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनले नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाको सभापति तीन कार्यकाल र भक्तपुर शाखाको उपसभापति दुई कार्यकाल सम्हालेका छन् ।

त्यस्तै, नेपाल तेक्वान्दो संघ वाग्मती प्रदेशको कोषाध्यक्ष, सूर्यविनायक उद्योग वाणिज्य संघको अध्यक्ष तथा विभिन्न खेलकुद र युवा क्लबमा संरक्षकको भूमिका समेत उनले निर्वाह गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ