रसुवा बाढीः प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चन्द्रागिरि हिल्सले रु. ५० लाख सहयोग गर्ने

Thankot Times

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आह्वान गरिएको ३६ घण्टामै एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ संकलन भएको छ।

अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा दाताहरूले उक्त रकम जम्मा गरेका हुन्।

यससँगै कोषमा रहेको रकम चार अर्ब नौ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा दुई अर्ब १७ करोड २५ लाख नौ हजार ७५९ रुपैयाँ बचत थियो।

बिहीबार छ घण्टाको अवधिमा मात्रै निजी क्षेत्रका दाताबाट अर्थ मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो। संकलित रकममा विभिन्न मित्रराष्ट्रले घोषणा गरेको सहायता समावेश नभएको मन्त्रालयले जनाएको छ।

बुधबार बिहान नेपाल-चीन सीमा हुँदै बग्ने भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो धनजनको क्षति भएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि कोषमा व्यक्ति तथा संस्थाबाट सहयोग जम्मा हुन थालेको हो।

सरकारले कोषमा रकम जम्मा गर्ने कार्यको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ। संस्थागत रूपमा एक करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताको रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफैँमार्फत स्वीकार गरिरहेका छन्।

व्यक्तिगत रूपमा नगद सहयोग गर्न चाहने दाताले अर्थ मन्त्रालयमै पुगेर रकम प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ।

चन्द्रागिरि हिल्सले ५० लाख सहयोग गर्ने

यसैबीच चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

शुक्रबार अपरान्ह एक विज्ञप्ति जारी गर्दै कम्पनीले सो रकम सहयोग गर्ने बताएको हो ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुर्नस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चन्द्रागिरि हिल्सद्वारा ५० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछौँ- विज्ञप्तिमा भनिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *