टप इन्ड टी-२० क्रिकेट शृङ्खलाः अन्तिम खेलमा नेपाल एक विकेटले पराजित
थानकोट ।
अस्ट्रेलियामा चलिरहेको टप इन्ड टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपाल ‘ए’ भिक्टोरिया एकेडेमीसँग एक विकेटले पराजित भएको छ ।
यससँगै नेपाल ‘ए’ले दुई जित र चार हारसहित तालिकाको सातौँ स्थानमा रहँदै शृङ्खला टुङ्ग्याएको छ ।
नेपाल ‘ए’ले दिएको १४३ रनको लक्ष्य भिक्टोरियाले अन्तिम ओभरको अन्तिम बलमा नौ विकेट गुमाएर पूरा गरेको हो ।
भिक्टोरियाको जीतमा ह्यारी होक्स्ट्राले अविजित ३५, टम रोजर्सले ३६ र ह्यारी डिक्सनले ३० रन बनाए ।
नेपालका युवराज खत्री र कुशल भुर्तेलले तीन÷तीन तथा आकाश चन्दले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४२ रन बनाएको थियो । कुशल भुर्तेलले अविजित ७० रन बनाए भने दीपक डुम्रेले १६ रन जोडे ।
यसअघि नर्दन टेरिटोरी स्टाइक, बङ्गलादेश हाइ प्रफर्मेन्स टोली र किंग्समेन एकेडेमीसँग पराजित नेपालले होबर्ट हुरिक्यास एकेडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो ।











