‘बरु एक कप चिया कम पिउँ, हेलिकप्टर एम्बुलेन्स सेवा थालनी गराैं’- विष्णु पुरुष
थानकोट ।
विभिन्न कारणले स्थलमार्ग अवरोध हुँदा बिरामीले उपचार नपाएर ज्यान गुमाइरहेका बेला ‘हेलिकोप्टर एम्बुलेन्स सेवा’ को आवश्यकता पुनः उजागर भएको छ ।
नेपालमा हेलिकप्टर एम्बुलेन्स सेवा अत्यावश्यक रहेको ठानी २०६४ सालदेखि धादिङ ज्वालामुखी गाउँपालिका-६ का उद्यमी विष्णुकुमार श्रेष्ठले यस अभियानमा आवाज उठाउँदै आएका छन् ।
रसुवा बाढी घटनाले नेपालमा हेलिकप्टर एम्बुलेन्स अवधारणा अनिवार्य मानक बनेको प्रमाणित भएको छ ।
श्रेष्ठले अब नेपालमा हेलिकप्टर एम्बुलेन्स सेवा पाइलट प्रोजेक्टको रुपमा अगाडि बढाउने कुरामा दुई मत नरहेको बताउँदछन् ।
उनी भन्छन्- पहुँचवाला र पैसा भएकाले हेलिकोप्टरको प्रयोग गरेर उपचार पाए पनि निम्न आयस्रोत भएका असक्त व्यक्तिले अस्पतालसम्मको पहुँच नहुँदा ज्यान गुमाइरहेको समयमा याे नागरिक मैत्री हुनेछ ।
‘मानव सेवा नै धर्म’ हो भन्ने मूल मन्त्र बनाएर लागेका उनले अभियानमा सहभागी हुन सबैलाई आग्रह पनि गरेका छन् ।
विकट क्षेत्रबाट अस्पतालसम्म जान बिरामीले नसक्ने तथा सुगम क्षेत्रबाटै पनि राजमार्गमा हुने घन्टौँ सवारी जामका कारण समयमै अस्पतालसम्म पुर्याउन नसक्दा एम्बुलेन्समै बिरामीले मृत्युवरण गर्नुपर्ने अवस्था छ ।
पाँच वर्षअघि नौबिसे सडकखण्डमा माइक्रोबस दुर्घटना हुँदा घाइते भएकालाई सवारी जामका कारण अस्पताल पुर्याउन नसक्दा मृत्यु भएको घटनाले आफूलाई हेलिकोप्टर एम्बुलेन्स सेवा आवश्यक रहेको अनुभूति गराएको भन्दै उनले सोही बेलादेखि नै यसको आन्तरिक तयारी गरिरहेको उनी बताउँछन् ।
अब यसलाई अभियानकै रुपमा आफूले अगाडि बढाएको भन्दै उनले कानुनी प्रक्रिया अन्तिम चरणमा उनको भनाइ छ ।
यो सेवा विभिन्न हेलिकोप्टर कम्पनीसँग सहकार्य गरेर ‘हेलिकोप्टर एम्बुलेन्स सेवा’ दिने उनले बताए । सबैले यो सेवा लिन नसक्ने भएकाले निम्न आयस्रोत, गरिब तथा विपन्न परिवारका सदस्यलाई निःशुल्क सेवा उपलब्ध गराउने गरी तयरी भइरहेको श्रेष्ठको भनाइ छ ।
संविधानले नागरिकको स्वास्थ्य हकलाई सुनिश्चित गरे पनि कार्यान्वयन शून्य रहेको बताउँदै उनले सबैको पहल र सहयोगमा नागरिकको ज्यान जोगाउनुपर्ने बताए । यसका लागि स्थलमार्गको मात्र नभएर हवाइ मार्गको एम्बुलेन्स सेवा आवश्यक रहेको उनको धारणा छ ।
सबै नागरिकले दैनिक कप चिया खान छोडेर यस अभियानमा सहभागी हुने हो भने अस्पतालको पहुँचबाट कसैले मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य हुने उनको बुझाइ छ ।
कानुनी प्रक्रिया अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । यस अभियानलाई एकल व्यक्तिले भन्दा सबैले हातेमालो गरेर सार्थकता दिनुपर्ने बताएका उनले आम्दानी र खर्च विवरण वेभसाइटमार्फत सार्वजनिक गर्ने समेत बताएका छन् ।











