सदनमा प्रधानमन्त्री शाह, भोटेकोशी र त्रिशूली बाढीबारे ब्रिफिङ
थानकोट ।
प्रधानमन्त्री वालेन्द्र शाह बालेनले भोटेकोसी त्रिशूली बाढीबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले १० भदौमा आएको बाढीको सूचना प्रवाहदेखि उद्धार र राहतबारेमा सदनलाई जानकारी दिएका हुन् ।
उनले भोटेकोसी त्रिशूली बाढीबाट प्रभावित टनेल क्षेत्रमा विशेष किसिमको प्रभाव परेको बताएका छन् । प्रतिनिधिसभामा बाढीबारे जानकारी दिँदै उनले टनेल बाढीसँगसँगै हिलो माटोहरूले पूर्ण रूपमा थुनिएकाले त्यसमा उद्धार गर्ने जनशक्ति विश्वभर नरहेको बताए ।
‘यो टनेलमा आएको विपत्ति विशेष किसिमको छ । पहिरो पन्छाएर उद्धार गर्ने एक्स्पर्ट विश्वभरि पाइन्छ । यो पहिरो प्रभावित भएर थुनिएको टनेल होइन,’ प्रधानमन्त्री बालेनले भने, ‘बाढीसँगसँगै हिलो माटोहरूले पूर्ण रूपमा थुनिएका टनेलहरू हुन् । यससँग काम गर्न सक्ने एक्सपर्टिज कुनै देशसँग थिएन । तत्कालै गर्न सक्ने टेक्नालोजी कसैसँग छैन ।’
एउटा टनेलमा एकपटकमा दुईवटाभन्दा बढी एक्साभेटरले काम गर्न नमिल्ने उनले बताए । प्रधानमन्त्री बालेनले मित्र राष्ट्रका उद्धार टोलीहरू पनि स्थिति केही सुधार भएपछि मात्रै प्रभावित क्षेत्रमा पुग्न सकेको दाबी गरे ।
‘त्यहाँ अवतरण हुन सक्ने अवस्था नै थिएन । मित्र राष्ट्रका उद्धार टोलीहरूले पनि त्यहाँ अवतरण हुन सक्ने स्थिति भएपछि मात्रै आउनुभएको हो,’ बालेनले भने ।










