थानकोटमा हिँडिरहेका व्यक्तिमाथि धारिलो हतियार प्रहार, ३ जना पक्राउ

Thankot Times

थानकोट ।

धारिलो हतियार प्रहार गरी लुटपाट गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनीहरुले चन्द्रागिरि नगरपालिका–४ छुकिनटोलस्थित सडकमा हिँडिरहेका व्यक्तिमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएर मोबाइल एक थान र रु तीन हजार नगद लुटपाट गरेका थिए ।

घटनालगत्तै फरार भएका उनीहरुलाई प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले चन्द्रागिरि नगरपालिका–१३ नैकापबाट पक्राउ गरेको हो ।

पक्राउका क्रममा प्रहरीले लुटिएको मोबाइल तथा घटनामा प्रयोग भएको घरेलु हतियार बरामद गरेको परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

घाइतेलाई उपचारका लागि थानकोट प्राथमिक अस्पताल पठाइएको छ । पक्राउ परेका तीनै जनाविरुद्ध चोरी तथा डाँकासम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट आज सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ