असोजदेखि काठमाडौं उपत्यकाका ६ रुटमा २८ रात्रिकालीन बस थपिँदै

Thankot Times

थानकोट ।

संविधान दिवसको अवसरमा ३ असोजदेखि काठमाडौं उपत्यकाका विस्तारित ६ वटा रुटमा २८ वटा रात्रिकालीन बस सञ्चालन गरिने भएको छ ।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाले साझा यातायातसँगको समन्वयमा गत वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्दै आएका छन् । सोही सेवालाई विस्तार गर्दै उपत्यकाको उत्तर–दक्षिण तथा पूर्व–पश्चिम क्षेत्रलाई जोड्ने गरी थप बस सञ्चालन गर्न लागिएको हो ।

गोदावरीदेखि बूढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चन्द्रागिरिको नागढुङ्गासम्म ४ वटा बस सञ्चालन हुनेछन् ।

त्यस्तै, कीर्तिपुरदेखि काठमाडौंको नयाँ सडकस्थित नेपाल वायुसेवा निगमसम्म ४ वटा तथा चक्रपथमा दुईतर्फी फन्को लगाउन ८ वटा बस सञ्चालन गरिनेछ ।

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बस सेवा सञ्चालन हुने नगरपालिकाका प्रमुख, उपप्रमुख, यातायात सेवा प्रदान गर्ने साझा यातायात र सरोकारवाला अधिकारीबीचको बुधबारकाे बैठकले यो निर्णय गरेको हो ।

चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सेवा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ । यसरी यात्रा गर्दा अधिकतम ८० रुपैयाँ भाडा लाग्नेछ ।

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ । त्यसपछि विज्ञहरूको कार्यदललाई यसको व्यवस्थापन र वित्तीय सुझावका लागि जिम्मा दियौँ । यसरी गरिएको अध्ययनले सेवाको निरन्तरताका लागि ३ वटा विकल्प दिएको छ । यसमध्ये उपत्यकाका नगरपालिकाको वित्तीय साझेदारीमा सेवालाई निरन्तरता दिँदा दिगो र सुरक्षित सेवा हुनेछ ।’

बैठकले रात्रिकालीन बस सेवा सञ्चालनको रुट परमिट सहजताका लागि विद्यमान यातायातसम्बन्धी कानुनमा समयसापेक्ष संशोधनका लागि सरकारसमक्ष अनुरोध गर्ने, रात्रिकालीन सहरी जीवन प्रवर्धन गर्न काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्रका सार्वजनिक स्थलहरूमा जात्रा, पर्व, मेला, महोत्सव आयोजना गरी रात्रिकालीन जीवनशैलीलाई सक्रिय बनाउने निर्णय गरेको छ ।

यस्तै, साझा यातायातमार्फत हुने सेवालाई थप प्रभावकारी बनाउन, यात्रु संख्या वृद्धि गर्न, गन्तव्य स्थलमा चार्जिङ स्टेसन निर्माण गर्न तथा रात्रिकालीन बस पार्कको व्यवस्थापनका लागि सम्बद्ध स्थानीय तहले आवश्यक सहयोग तथा सहजीकरण गर्ने निर्णय भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ