आइसियुमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिइएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
थानकोट ।
रसुवाको बाढीबाट उद्धार गरिएका तथा अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएर सामग्री प्रसारण गरिएको विषयमा प्रेस काउन्सिल नेपालले अध्ययन थालेको छ।
काउन्सिलले सोमबार विज्ञप्ति जारी गर्दै बाढीमा बेपत्ता भएको १० दिनपछि उद्धार गरिएका जलविद्युत् आयोजनाका कामदारसँग आईसीयूमै अन्तर्वार्ता लिएर ‘इनसाइड द बंकर’ नामक युट्युब च्यानलबाट प्रसारण गरिएको सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको हो।
बीबीसी नेपालीको सामग्री पनि अध्ययनमा
यसअघि सात दिनसम्म सम्पर्कविहीन भएर फेला परेका एक पथप्रदर्शकसँग अस्पतालमा उपचाररत अवस्थामै आईसीयूबाट अन्तर्वार्ता लिएर बीबीसी नेपालीले प्रसारण गरेको भिडियो सामग्रीबारे पनि जानकारी प्राप्त भएको काउन्सिलले जनाएको छ।

गम्भीर अवस्थामा उपचाररत व्यक्तिसँग आईसीयूभित्रै अन्तर्वार्ता लिनु बिरामीको गोपनीयता, संवेदनशीलता र स्वास्थ्य सुरक्षासँग जोडिएको विषय भएकाले पत्रकार आचारसंहिताको प्रश्न उठेको हो।
सञ्चारकर्मी र अस्पतालसँग बुझ्ने
काउन्सिलले प्रसारित सामग्री पत्रकार आचारसंहिताको परिधिभित्र रहे/नरहेको सम्बन्धमा थप अध्ययन तथा अनुगमन भइरहेको जनाएको छ।
विषयको अध्ययनका लागि सम्बन्धित सञ्चारकर्मी, अस्पताल र मेडिकल काउन्सिलसँग पत्राचार गरी जानकारी लिइने काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
रसुवा बाढीबाट उद्धार भई आइसियुमा उपचाररत व्यक्तिहरूसँग अन्तर्वार्ता लिएर सामग्री प्रसारण गरिएको विषयमा प्रेस काउन्सिलले अध्ययन थालेको छ। काउन्सिलले सञ्चारकर्मी, अस्पताल र मेडिकल काउन्सिलसँग जानकारी माग्ने जनाएको छ।














