सतुङ्गलस्थित ए आई स्कुललाई चन्द्रागिरि नगरस्तरीय हाजिरीजवाफको उपाधि
थानकोट ।
चन्द्रागिरि नगरपालिकास्तरीय हाजिरीजवाफ प्रतियोगिता-२०८३ को उपाधि सतुङ्गलस्थित एआई स्कुलले जितेको छ।
चन्द्रागिरि नगर क्षेत्रका ३९ सामुदायिक तथा संस्थागत विद्यालय सहभागी प्रतियोगितामा हाई न्यू भिजन एकेडेमी दोस्रो र विद्याश्री एकेडेमी तेस्रो भएका छन्।
चन्द्रागिरि नगरपालिका नगर शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रतियोगितामा चेकपोष्टस्थित प्रभात माध्यमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गरे ।
उपाधि विजेता एआई स्कुलले नगद १५ हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ।
दोस्रो भएको हाई न्यू भिजन एकेडेमीले नगद १२ हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र र मेडल तथा तेस्रो भएको विद्याश्री एकेडेमीले नगद ९ हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन्।
सान्त्वना स्थान हासिल गरेका प्रभात माध्यमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालयलाई नगद ६ हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ।
प्रतियोगितामा विजेता एवम् सहभागी विद्यार्थीहरूलाई चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले पुरस्कार वितरण गरेका थिए।
कार्यक्रममा नगर प्रमुख गिरीले शिक्षाको गुणस्तर सुधारसँगै विद्यार्थीको प्रतिभा र क्षमता विकासमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले विद्यार्थीलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा समेत सक्रिय सहभागी गराउँदै प्रतिस्पर्धात्मक र सिर्जनशील बनाउन आवश्यक रहेको धारणा राखे ।
कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरूबीच प्रतियोगिता सञ्चालन गरिएको थियो ।










