काठमाण्डाै उपत्यकामा फैलँदै डेङ्गु
थानकोट ।
केही वर्ष अघिसम्म तराईको रोग भनेर चिनिएको डेङ्गु पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकामा फैलिँदै गएको छ ।
काठमाडौं र ललितपुर यो वर्ष डेङ्गुको चपेटामा परेका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ओपीडीमा ज्वरो र डेङ्गुसँग मिल्दोजुल्दो लक्षण लिएर आएका बिरामीमा संक्रमण पुष्टि हुनेको संख्या बढेको छ । शुक्रबारसम्म काठमाडौंको अस्पतालमा २३ जना डेङ्गुका बिरामी उपचाररत रहेको अस्पतालको तथ्यांक छ ।
यो वर्ष उपत्यकामा ललितपुर महानगर वडा नं. ५ मा गत असार ९ गते डेङ्गुको पहिलो केस देखिएको थियो ।
ललितपुरका सानेपा, लगनखेल, थसिखेल हुँदै महालक्ष्मीसम्म देखिएको डेङ्गु संक्रमण भदौ ९ गतेसम्म आइपुग्दा सातसय २६ जनामा देखिइसकेको छ । यो संख्या दिनहुँ थपिँदै गएको र अबको एक महिना अझै बढ्ने जोखिम रहेको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख सतिस बिस्ट बताउँछन् ।
त्यस्तै काठमाडौंमा यो वर्ष डेङ्गु संक्रमितको संख्या दुईसय ९३ पुगेको छ । संक्रमितमध्ये दुईसय ४४ जना अगस्टमा मात्रै थपिएको काठमाडौंका स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीले बताए बाह्रखरीमा समाचार छ ।












