चाडपर्वको बेला सार्वजनिक सवारीको भाडा नबढाउने यातायात व्यवसायीको घोषणा

Thankot Times

थानकोट ।

दसैँ, तिहार तथा छठजस्ता मुख्य चाडपर्वका बेला सार्वजनिक सवारीको भाडा नबढाउने यातायात व्यवसायीहरूले घोषणा गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आसन्न चाडपर्वका अवसरमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिबद्धता जनाएको हो ।

सोमबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेसम्म हाल कायम रहेको भाडादरमै यात्रुलाई सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।

बैठकमा बोल्दै अध्यक्ष सिटौलाले चाडपर्वमा अग्रिम टिकट बुकिङ मात्र ठूलो कुरा नभई यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउनु मुख्य चुनौती रहेको बताए ।

तथापि, सडकको दयनीय अवस्था र ठाउँ–ठाउँमा भइरहेको अवरोधका कारण यातायात सञ्चालनमा कठिनाइ भए पनि सरकारसँगको समन्वयमा सेवालाई निरन्तरता दिने उनले जानकारी दिए ।

तर, यातायात क्षेत्रमा हुने विचौलियाको बिगबिगी र जथाभाबी टिकट काट्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा उनले बताए । सवारीसाधनको प्रकार (नर्मल, डिलक्स, सुपर डिलक्स) अनुसार सरकारले तोकेको भाडादर कार्यान्वयन गर्न व्यवसायी प्रतिबद्ध रहेको बताए ।

चाडपर्वको समयमा हुने एकतर्फी चापको व्यवस्थापनमा जोड दिँदै सो समयमा मालवाहक सवारीसाधनलाई निश्चित समय रोक्न र सडक मर्मतमा तीव्रता दिन सरकारलाई आग्रह गरे ।

सिटौलाले भने, ‘तोकिएको बसपार्क र काउन्टरबाट मात्र टिकट काट्ने व्यवस्था मिलाउनसके यात्रु ठगीको समस्या हटेर जान्छ । दसैँको समयमा यात्रुवाहक सवारीलाई पहिलो प्राथमिकता दिनुपर्छ । बाटोको खाल्डाखुल्टी पुर्न र सडक सुरक्षाका लागि १५–२० दिन विशेष ध्यान दिनुपर्छ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *